लैङ्गिक पुनर्निर्धारणलाई अनुमति दिने देशमा आफ्ना बालबालिका धर्मपुत्र/धर्मपुत्री पठाउने प्रतिबन्धलाई रुसी सांसदहरूको समर्थन

रुसी तल्लो संसद ‘डुमा’ले बुधबार लैङ्गिक पुनर्निर्धारणलाई अनुमति दिने देशहरूमा रूसी बालबालिकालाई धर्मपुत्र÷धर्मपुत्रीका रुपमा पठाउन प्रतिबन्ध लगाउने विधेयकलाई समर्थन गर्न मतदान गरेको छ । 

विधेयकले चिकित्सकिय प्रक्रियाबाट लिङ्ग परिवर्तन गर्ने वा आधिकारिक पहिचान कागजातमा आफ्नो लिङ्ग परिवर्तन गर्न अनुमति दिने देशमाथि प्रतिबन्ध लगाउने छ ।  

डुमाका अध्यक्ष व्याचेस्लाव भोलोडिनले विधेयकको अग्रिम स्वागत गर्नुभयो । “यस कानूनको माध्यमबाट हामी बालबालिकाको सुरक्षा गरिरहेका छौं, हामी हाम्रा बच्चा समलिङ्गी विवाह र लिङ्ग परिवर्तनको अनुमति दिइएको देशमा जान नपरोस् भन्ने चाहन्छौ”, उहाँले बताउनुभयो । 

सांसदहरूले प्रस्तावित कानूनलाई समर्थन गर्न लगभग सर्वसम्मतिले मतदान गरेका छन् । पुटिनले कानूनमा हस्ताक्षर गर्नुअघि यो विधेयक थप दुई पटक पढ्न र माथिल्लो सदनबाट पारित हुन आवश्यक रहेको बताउनुभयो । मस्कोले सन् २०२१ देखि अमेरिकीलाई आफ्नो देशको बालबालिका धर्मसन्तानका रुपमा पठाउन प्रतिबन्ध लगाएको हो । सन् २०२२ मा युक्रेनको आक्रमणपछि यो लगभग पूर्ण रूपमा बन्द भएको छ । 

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा विदेशी नागरिकहरूले केवल ६ जना रुसी बालबालिकालाई धर्मपुत्र÷धर्मपुत्रीको रुपमा लगेका छन् ।  रूसी सञ्चारमाध्यममा उद्धृत सरकारी तथ्याङ्कअनुसार यस वर्षको सुरुमा ३ लाख ५८ हजार बालबालिका हेरचाह केन्द्रमा छन् । 

विदेशी अभिभावकको पर्खाइमा रहेका बालबालिकाहरू युक्रेनमा द्वन्द्वको परिणाममा फसेका छन् ।  मस्कोले सन् २०२२ देखि “गैर–मित्रवत देशहरू”मा आफ्नो बालबालिका पठाउनमा प्रतिबन्ध लगाउने विचार गरेको हो । 

राज्य डुमाको वेबसाइटमा एकजना व्याख्याकर्ताले उक्त विधेयकले नेटो देशहरूलाई रुसी बालबालिका धर्मसन्तानका रुपमा पठाउन प्रतिबन्ध लगाउने लक्ष्य राखेको बताएका छन् । 

रुसले वर्षौँदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय ‘एलबिजिटिक्यु’ मानिसहरूका लागि प्रतिकुल वातावरण सिर्जना गर्दै आएको छ। जुलाई २०२३ मा  यसले “अन्तर्राष्ट्रिय एलजिबिटी आन्दोलन” लाई चरमपन्थीको रूपमा प्रतिबन्ध लगाउनुका साथै लैङ्गिक पुनर्निर्धारणलाई अवैध बनाएको हो ।