अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक छ : तालिबान सरकार

अफगानिस्तानको तालिबान सरकार ब्रिक्स आर्थिक सम्मेलनमा सहभागी हुन उत्सुक रहेको मङ्गलबार सरकारको एक प्रवक्ताले बताउनुभयो ।  

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहित उदीयमान अर्थतन्त्रहरूको शिखर सम्मेलन अक्टोबर २२-२४ मा रुसको दक्षिणपश्चिमी सहर कजानमा हुनेछ । 

"विश्वको सबैभन्दा ठूला अर्थतन्त्र भएका ब्रिक्ससँग सम्बन्धित देशसँग हाल हाम्रो राम्रो आर्थिक र व्यावसायिक सम्बन्ध छ । हामी हाम्रो सम्बन्ध थप विस्तार गर्न र ब्रिक्सको आर्थिक सम्मेलनमा भाग लिन उत्सुक छौं ", सरकारका उप प्रवक्ता हमदुल्ला फितरातले भन्नुभयो ।  

तालिबान अधिकारीहरूलाई कुनै पनि देशले आधिकारिक रूपमा मान्यता दिएको छैन तर चीन र रुसलगायत संस्थापक ब्रिक्स राष्ट्रहरूसँग भने यसको सम्बन्ध बढ्दै गएको छ ।हालै इरान, संयुक्त अरब इमिरेट्स, इजिप्ट र इथियोपियालाई समावेश गरेर विस्तार गरेको सङ्गठनले तालिबान सरकारको टिप्पणीमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन । 

मस्को र बेइजिङ दुवैले अफगानिस्तानमा व्यावसायिक परियोजनामा लगानी गर्न र इस्लामिक स्टेट समूहको अफगानिस्तान शाखा 'इस्लामिक स्टेट खोरासन' विरुद्धको लडाइँमा तालिबान अधिकारीलाई सहयोग गर्न आफु तयार रहेको बताएका छन् ।