उपभोक्ताले‘न्युट्रास्युटिकल’ र ‘कस्मास्युटिकल’ छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ : एनएनसिए

काठमाडौँ, ९ असोज :  नेपाल आहारपुरक सौन्दर्यवद्र्धक सङ्घ(एनएनसिए)ले आफ्नो पहिलो अधिवेशन यही असोज १२ गते आयोजना गर्ने भएको छ । देशभर ६ सय बढी न्युट्रास्युटिकललगायतका आहारपुरक आपूर्ति गर्ने व्यवसायी छन्

सङ्घद्वारा अधिवेशनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका  अध्यक्ष विप्लप रञ्जितले नेपालमा न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीको आयात र बजारीकरणमा  आफ्नो सस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिराखेको जानकारी दिनुभयो  ।  

उहाँले भन्नुभयो ,“आम उपभोक्ता तथा बिरामीलाई पोषणतत्वको अभावले विविध रोग लाग्न सक्ने र त्यसलाई रोक्न न्युट्रास्युटिकल्स प्रोडक्टको महत्व विश्वव्यापी रुपमा बढेको छ ।” 

उहाँका अनुसार नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिई यस्ता सामग्रीको आयात र बजारीकरण भइरहेको छ । अध्यक्ष रञ्जितले भन्नुभयो,     “न्युट्रास्युटिकल शरीरको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने आहारपूरक खाद्य हो । नेपालमा औषधि, फुड, र कस्मास्युटिकल्स हेर्ने निकाय छुट्टाछुट्टै छ । यी निकायबीचको समन्वय नहुँदा पनि समस्या देखिएको छ ।”

व्यवसायीले उपभोक्ताले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिनसक्ने व्यवस्थाको माग गर्दै आएका छन् ।  “चिकित्सकले बिरामी हुनाको कारण पहिचान गरेर निकट भविष्यमा पुनः बिरामी नहोस् भनेर न्युट्रास्युटिकल प्रेस्क्राइब गर्दै आउनुभएको छ कतिपय न्युट्रस्युटिकल रोगको उपचारसँगै दिइन्छ”, सङघका अध्यक्ष रञ्जितले भन्नुभयो, “बिरामीको शरीरलाई चाहिने जति पौष्टिकतत्व दाल, भात, तरकारी र मासुले मात्र पुग्दैन । यस्तो अवस्थामा न्युन्ट्रास्युटिकलले आहारपूरक खाद्यको पूर्ति गर्दछ ।” बिरामीको रोगप्रतिरोधात्मक क्षमता बढाउन  चिकित्सकको सिफारिस एवं आफूलाई आवश्यक आहारपुरक सामग्री उपभोग गर्न सकिने सङ्घले जनाएको छ ।   सङघले आहारपुरक र सौन्दर्यप्रर्वद्धक व्यवसायलाई सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि व्यवसायीलाई एकत्रित गर्ने र बजारको अस्वस्थ्य प्रतिस्पर्धालाई रोक्न प्रतिबद्ध रहेको जनाएको छ ।

 सङ्घले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रभावकारी कार्यान्वयन गर्न माग समेत गरेको छ । गत बैशाख २३ गते सो ऐन जारी भएको थियो । ‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने नारालाई सङ्घले सार्थक बनाउने ध्येय राखेको सङ्घका महासचिव  सुसान्त मुरारकाले बताउनुभयो । उहाँले भन्नुभयो,“आम उपभोक्ताहरुले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ ।”