नवलपुरमा जितीया पर्व मनाइँदै

काठमाडौँ, ९  असोज : नवलपरासी (बर्दघाट–सुस्तापूर्व), का थारु महिलाले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला निराहार व्रत बसेर रमाइलो गरी मनाउँदैछन् । 

जितिया पर्व हरेक वर्षको आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म नेपालको मध्यभागमा रहेको नवलपुर तथा तराईका जिल्लामा थारु महिलाले मनाउने गर्दछन् । यस व्रत वा उपवासको क्रममा जितवहान भगवानको कथा र महिमा सुन्ने गरिन्छ । थारु महिलाहरुको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र दीर्घायुको लागि प्रसिद्ध छ । 

आज अष्टमी तिथिका दिन थारु समुदायका महिला ‘झाम्टा’ नाच नाच्दै गाउँदै जितिया मनाउँछन् । आज बिहानै उठेर नुहाइधुवाइ गरी बेलपत्र टिपेर पूजा तथा नाचगान गर्दै दिनभर महिला तथा युवती यो पर्व मनाउने गर्दछन् । थारुहरुको बाक्लो बसोबास रहेको जिल्लाको मध्यविन्दु, कावासोती, देवचुली नगरपालिकामा जितियाको विशेष उल्लास हुने गरेको छ । 

यो पर्वमा पहिलो दिन सप्तमी तिथिलाई ‘लाहा खाएके’, दोस्रो दिन अष्टमी तिथिलाई ‘उपास’ र अन्तिम दिन नवमी तिथिलाई ‘पारन’ भनिन्छ । हिजो मङ्गलबार सप्तमीको दिन भएकोले महिलाहरु बिहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरी त्यसपछि मात्रै खानेकुरा ‘दर’ खाएका थिए । आज बुधबार अष्टमीको दिनमा महिला बिहानै नुहाइधुवाइ गरी सफा र शुद्ध कपडा लगाएर बिहानैदेखि पानी पनि नखाइ निराहर ‘उपास’ ब्रत बसेर झम्टा नाच नाचेर मनाउँछन् । 

महिला नयाँ सांस्कृतिक वेषभूषा लगाई आज अष्टमीको दिनभरि नै झम्टा नृत्यमा रम्ने गर्दछन् । बेलुकीपख व्रतालु फेरि खोलामा गई पिनाले नुहाइ पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै व्रतालु महिला जम्मा भएर कथा सुन्ने प्रचलन छ । रुखको चारैतिर व्रतालु महिला फलफूल, पानी, दूध, दही, भिजाएको मास र चामल लिएर बस्छन् । 

गाउँको कुनै एक पुरुषले जीतबाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउँछन् । कथा सकिएपछि सबै जना घर गएर ‘फराहर’ (व्रत बसेको दिनमा बेलुकी पख कथा सुनिसकेपछि दही, केरा, चिउरा, फलफूलको भोजन) गर्छन् । भोलिपल्ट अर्थात् नवमीको दिन बिहानै सबै व्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि व्रतालुले दही, चिउरा, केरा लगायतका खानेकुरा खान्छन् । तर, खानु भन्दा अगाडि आगोको गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानेकुराको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । 

हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । सन्तानको दीर्घ जीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रहेको मध्यविन्दु नगरपालिका–३ का वडाध्यक्ष मानबहादुर महतोले बताउनुभयो । यो पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने महतोको भनाइ छ । 

विशेषगरी विवाहित थारु चेलिबेटीले निराहार व्रत बसेर सूर्यलाई जितबाहन बाबाको नामले पूजाअर्चना गर्ने प्रचलन रहेको वडाध्यक्ष महतोको भनाइ छ ।
 विवाह गरेर गएका चेलीबेटीलाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ । विवाहित र अविवाहित दुवै चेलिहरुले यो पर्वमा व्रत लिनसक्ने महतोले बताउनुभयो ।मध्यविन्दुका थारु अगुवा जुगतराम थनेतका अनुसार विवाहितले श्रीमान् र आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै निरहार व्रत बस्छन् भने अविवाहित चेलिहरुले जितबाहन जस्तै सुयोग्य पति प्राप्तिका लागि निरहार व्रत बस्ने चलन छ । चौबिस घन्टे लामो व्रतपछि मात्र महिलाहरुले पानी पिउने थनेतको भनाइ छ । 

यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशिर्वाद दिने विश्वास थारु समुदायको रहेको थनेतले बताउनुभयो । यस पर्वलाई थारु विवाहित चेलिबेटीलाई माइतमा ल्याई सुख–दुःखका कुरा साट्ने अवसरका रुपमा पनि लिने गरिएको मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो । वषौँसम्म आफन्तसँग भेटघाट गर्ने सङ्गमका रुपमा पनि यसलाई लिइने चौधरीको भनाइ छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुराउने गरेको नगरउपप्रमुख चौधरीको भनाइ छ । 

जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन नभए पनि थारु समाजमा यसको महिमा परापूर्वकालदेखि रहँदै आएको चौधरीले बताउनुभयो । आफ्नो संस्कृति झल्काउने पोसाकमा सजिएर थारु महिलाहरुले यो पर्व मनाउने गरेका छन् । यसरी सामाजिक सद्भाव वृद्धि गर्ने पर्वको रुपमा चिनिने जितिया पर्व नेपाल र नेपालीको पहिचान बोकेको पर्व भएको नगर उपप्रमुख चौधरीले बताउनुभयो ।