हिजबुल्लाहद्वारा इजरायली खुफिया एजेन्सी मोसादको मुख्यालयमा मिसाइल प्रहार

लेबनानको अतिवादी समूह हिजबुल्लाहले इजरायली खुफिया एजेन्सी मोसादको मुख्यालयमा मिसाइल प्रहार गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै तेल अविभस्थित मोसादको मुख्यालयलाई निशाना बनाएको हिजबुल्लाहले जनाएको थियो । विज्ञप्तिमा हिजबुल्लाहले मोसादलाई नेताहरुको हत्या र पेजर विष्फोटमा संलग्न भएको आरोप लगाएको छ ।

इजरायलले पनि हिजबुल्लाहको मिसाइल पहिलो पटक तेलअविभ आइपुगेको स्वीकार गरेको छ । इजरायली सेनाले आफ्नो मुख्यालयन नजिक मिसाइल नष्ट गरेको दाबी गरेको छ ।

लेबनानको नफाखिएबाट प्रहार गरिएको लन्चर नष्ट गरेको इजरायली सेनाको दाबी छ । यस्तै, हिजबुल्लाहको पूर्वाधार, हतियार तथा रकेट लन्चर भएका स्थानलाई पनि नष्ट गरेको इजरायलको दाबी छ ।

तेल अविभ र केन्द्रीय इजरायलमा हवाइ आक्रमणको साइरन सुनिएको तर, मिसाइल नष्ट गरेकोले कुनै क्षति र कसैको मृत्युबारे सूचना नआएको इजरायली सेनाले बताएको छ ।

यसअघि, इजरायलले बेरुतमा हिजबुल्लाह कमान्डरलाई मारेको जनाएको थियो। लेबनानले बेरुतमा भएको आक्रमणमा ६ जना मारिएको र १५ जना घाइते भएको जनाएको छ ।

मंगलबार इजरायली आक्रमणका कारण ५० बालबालिकासहित ५६० भन्दा बढी मानिस मारिएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।