इरानले मार्न खाेज्याे तर सफल भएन, फेरि प्रयास गर्न सक्छ : डोनाल्ड ट्रम्प

 इरानले आफूलाई मार्न चाहेको तर सफल नभएको अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् । उसले फेरि यस्तै प्रयास गर्न सक्ने पनि उनले बताए । 

‘मेरो ज्यानलाई इरानबाट ठुलो खतरा छ । सम्पूर्ण अमेरिकी सेना हेर्दै छ र पर्खिरहेको छ । इरानले प्रयास त गरेको थियो तर असफल भयो । तर उसले फेरि पनि प्रयास गर्नेछ । यो अवस्था कसैको लागि राम्रो होइन । म त झन् धेरै मानिस, बन्दुक र हतियारहरूले घेरिएको छ । यो भन्दा अगाडि म धेरै मानिसहरूबाट यसरी घेरिएको थिइन् ।’ सामाजिक सञ्जालमा एउटा पोस्टमा ट्रम्पले लेखेका छन् ।

आफ्नो सुरक्षाका लागि थप रकम विनियोजन गरेको भन्दै उनले संसदलाई धन्यवाद पनि भने । रिपब्लिकन र डेमोक्रेटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा आफूलाई राम्रो लाग्यो तर, पूर्वराष्ट्रपतिमाथि हमला गर्नु आक्रमणकारीका लागि मृत्युको निम्तो दिनुजस्तै भएको पनि उनले अगाडि लेखेका छन् । 

ट्रम्पको यो पोष्टपछि अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर बहस सुरु भएको छ । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गर्नेछन् ।