स्थिरताका लागि कांग्रेस-एमाले सरकारः मन्त्री पाण्डे

काठमाडौँ, ८ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको राजनीतिक, आर्थिक एवं सामाजिक अस्थिरतालाई ठिक ठाउँमा ल्याउन दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेतृत्वमा सरकार गठन भएको बताउनुभएको छ । 

कांग्रेस गण्डकी प्रदेश कार्यालय पोखरामा आज आयोजित कार्यक्रममा उहाँले विसं २०८४ को निर्वाचनमा मुख्य प्रतिस्पर्धी एमाले भए पनि देशलाई अस्थिरताबाट जोगाउन कांग्रेसले मिलेर सरकार बनाउनुुपरेको बताउनुभयो । “देशलाई सङ्कटबाट मुक्त गर्न दुई पार्टीबीच सहकार्य भएको हो । त्यसैले जनतालाई राहत दिने गरी सरकारले काम गर्नुपर्छ भनेर लागिरहेका छौँ । देशलाई सही दिशामा डोर्‍याउन सरकार सचेत र संवेदनशील भई अन्य पार्टीलाई पनि सँगै लिएर जान्छ”, मन्त्री पाण्डेले भन्नुभयो । 

विविधतापूर्ण संस्कृति र प्राकृतिक रूपमा सम्पन्न नेपालमा पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै मन्त्री पाण्डेले यसका लागि सरकार क्रियाशील रहेको धारणा राख्नुभयो । 
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई चलायमान बनाउन आफूले  विदेशी एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको उहाँले जानकारी दिनुभयो । “दुई वटा विमानस्थल चलायमान गर्न विमानस्थलबाट लिँदै आएको प्रतिव्यक्ति रु तीन हजार कर छुट गरिएको छ । अब नेपाली आकास सुरक्षित छ भन्ने सन्देश दिन सबै मिलेर काम गर्न जरूरी छ”, मन्त्री पाण्डेको भनाइ थियो । 

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नेपालमा धार्मिक पर्यटकको सम्भावना रहेकाले भएकाले सोहीअनुसार पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।