हिजबुल्लाह इजरायलविरुद्ध एक्लै खडा हुन सक्दैनः इरानी राष्ट्रपति

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताउनुभएको छ ।

“पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देश विरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन”, पेजेस्कियनले सिएनएनसँगको अन्तर्वार्तामा भन्नुभयो । 

उहाँले “लेबनानलाई अर्को गाजा बन्न नदिन“ अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । लेबनानमा सोमबार भएको इजरायली हमलामा ३५ बालबालिका सहित करिब ५०० जनाको मृत्यु भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार छ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकूहरू मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो ।

इरानले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई इजरायल विरुद्ध “तत्काल कारबाही गर्न“ आह्वान गरेको छ । “इरान उदासीन रहनेछैन”, विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “हामी लेबनान र प्यालेस्टाइनका जनताको साथमा उभिएका छौँ।“ 

हिजबुल्लाहको सञ्चार उपकरण लक्षित आक्रमणमा ३९ जनाको मृत्यु भएको र लगभग तीन हजार घाइते भएको एक हप्ताभन्दा पनि कम समयमा इजरायली आक्रमणहरु सुरु भएका हुन् । 

संयुक्त राष्ट्र सङ्घको वार्षिक महासभाका लागि न्यूयोर्क भ्रमणमा रहनुभएका पेजेस्कियनले इजरायललाई युद्धोन्मादको आरोप लगाउनुभएको छ ।

 “यदि मध्यपूर्वमा ठुलो युद्ध भयो भने यसले विश्वव्यापी रूपमा कसैलाई फाइदा पुर्याउने छैन भन्ने कुरा हामी सबैलाई राम्रोसँग थाहा छ”, पेजेस्कियनले गोलमेज सम्मेलनमा सञ्चारकर्मीलाई भन्नुभयो, “इजरायलले व्यापक द्वन्द्वको अवस्था सिर्जना गर्न खोज्दैछ ।” 

इरानले विगत १०० वर्षमा कहिल्यै युद्ध सुरु नगरेको उहाँले बताउनुभयो । तर कसैलाई पनि इरानी सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पुर्याउने अनुमति नभएकोमा उहाँले जोड दिनुभयो ।