३ महिनादेखि अन्तरिक्षमा अड्किएकी अन्तरिक्षयात्री सुनिता विलियम्स फेरि बनिन् आईएसस कमान्डर

भारतीय मूलकी अन्तरिक्षयात्री सुनिता विलियम्स पुन: इन्टरनेसनल स्पेस स्टेसन (आईएसस)को कमान्डर बनेकी छन् । रुसी अन्तरिक्षयात्री ओलेग कोनोनेन्को पृथ्वीमा फर्किएपछि सुनिता १२ वर्ष सात दिनपछि पुनः आईएसस कमान्डर बन्न सफल भएकी हुन् । 

नेतृत्व हस्तान्तरण गर्ने काम अमेरिकी समय अनुसार आइतवार बिहान आईएसएसमै भएको थियो । त्यसक्रममा सुनिताले कोनोनेन्कोप्रति आभार व्यक्त गरेकी थिइन् । आफूहरूलाई कोनोनेन्कोको समूहले स्वागत गरेर सबै कुरा व्यवस्थित गरिदिएकोमा उनले धन्यवाद समेत दिएकी थिइन् । 

यसअघि सन् २०१२ मा ‘एक्सपेडिसन ३३’ क्रममा सुनिताले आईएसएसको नेतृत्व सम्हालेकी थिइन् । नासाले आईएससमा भएका अन्तरिक्ष यात्रीमध्येबाट एक जनालाई कमान्डर नियुक्त गर्दै आएको छ । 

आईएसएस कमान्डरले क्रु सदस्यहरूको काम विभाजन गर्ने, निर्देशन दिने तथा उनीहरूको सुरक्षा सुनिश्चित गर्ने जस्ता काम गर्नुपर्छ । त्यस्तै आईएसएसमा जारी वैज्ञानिक अनुसन्धान र गतिविधिहरूको निगरानी गर्ने, विभिन्न मिसनहरू पूरा गर्न आवश्यक रिपोर्टिङ गर्ने तथा प्रशासनिक जिम्मेवारी पनि सम्हाल्नु पर्ने हुन्छ ।

सुनिता विलियम्स र उनका सहकर्मी बेरी विल्मर गत जुन ५ यता अन्तरिक्षमा नै अड्किएका छन् । बोइङको मानव सहितको स्टारलाइनर अन्तरिक्ष यान प्रक्षेपण गर्ने क्रममा उनीहरू अड्किएका हुन् । 

स्टारलाइनरले उनीहरूलाई पृथ्वीमा फर्काउन नसक्ने भएकाले अब यो जोडी फेब्रुअरी २०२५ मा मात्र पृथ्वीमा फर्कने भएको छ । हाल यसका लागि स्पेसएक्स क्रु-९ ले उद्धार मिसनको तयारी गरिरहेको छ ।