सुक्खा पहिरोमा परी एक महिला बेपत्ता

सुक्खा पहिरोमा परी यहाँको मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता हुनुभएको छ ।

६९ वर्षीया टनि पुन आईतबारदेखि बेपत्ता हुनुभएको हो । घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुक्खा पहिरो झरेको थियो । त्यसपछि उहाँ  बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा दुइवटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ । उक्त सामुदायिक वनको छ सय मिटर माथिबाट  सुक्खा पहिरो गएको छ । उहाँ अझै सम्पर्कमा नआउनुभएकोले पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।