पत्रकारिता बलियो भए मात्र जनताको मुहारमा हाँसो ल्याउन सकिन्छ

आज हाम्रो लागि खुशी र उत्सवको दिन हो । नेपाली मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवलाई भब्य बनाउन हामी सहभागी भएका छौं ।  यति सम्मानित र विशाल सभामा कार्यक्रम मनाउन पाउँदा हामी अत्यन्तै हर्षित छौं ।

नेपाली मिडिया जगतलाई मर्यादित, सन्तुलित र विश्वसनीय बनाउन प्रेस काउन्सिल नेपालले आफ्ना कामलाई तिव्रताका साथ अघि बढाइरहेको छ । हामीलाई थाहा छ, अर्थतन्त्र ओरालोमा छ, त्यसको प्रभाव अन्य क्षेत्र जस्तै मिडियामा पनि परेको छ । छापा माध्यम त संकटमै छन् ।

कतिपय दैनिक, साप्ताहिक र मासिक पत्रिकाका बन्द भएका छन् । कतिपय नयाँ रणनीतिसाथ चल्ने तयारीमा छन् ।  तमाम संकटका विच नेपाली मिडियाले देशको हितमा, जनताको पक्षमा र समृद्धिको पक्षमा सकि नसकि काम गरिरहेका छन् ।  यो राम्रो पक्ष हो । अनलाइनसहित डिजिटल मिडियाको बढ्दो उपस्थितिले परम्परागत मिडियाका रुपमा चलेका रेडियो, टिभि र पत्रपत्रिकालाई गम्भीर समीक्षा गर्न बाध्य पारेको
छ ।

अहिले हामी आर्टिफिसियल इन्टिलिजेन्स (एआइ)को प्रभावमा  प्रवेश गरिसकेका छौं । हामीले खोज्ने समाचार, यसका भाषा, शैली एआइ प्रविधिबाटै भेटिने अनि हामी पत्रकारिताको पुरानै ढर्रामा हिँडिरहने हो भने सुधार कसरी होला, गम्भीर प्रश्न छ ।

हात हातमा भएका मोवाइल र सामाजिक सञ्जालको प्रयोगले अब जिज्ञासा राख्न, प्रश्न उठाउन सर्वसाधरण सबैले सक्ने अवस्था छ । पत्रकारले मात्र प्रश्न सोध्ने पहिलेको अवस्था अब रहेन । अब पत्रकारले गहन खोजी, अध्ययनसहित विकल्प दिएर प्रश्न उठाउनुपर्ने अवस्था आएको छ । पत्रकारिताभित्र सृजनात्मकताको खाँचो बढ्दै गएको छ । प्रश्न औंल्याउने मात्र नभै समाधानका विकल्पहरु दिन सके पत्रकारिता रचनात्मक हुन्छ । त्यही कारण प्रेस काउन्सिलले पछिल्ला दिनहरुमा समाधनका विकल्पसहितको रचनात्मक पत्रकारितालाई देशभर अभियानकै रुपमा अघि बढाएको छ ।

हामीले केही नयाँ कामको सुरुवात गरेको यस गरिमामय सभामा उल्लेख गर्न पाउँदा खुशी लागेको छ । नेपालका मिडियाका समाचार कक्षहरुमा रचनात्मक पत्रकारिताको बहस हामीले थालेका छौं । युट्युवलाई व्यवस्थित गर्न मापदण्ड बनाएर अनुगमन र कारवाही गरेका छौं ।  युट्युव माध्यमका प्रकार छुट्याई आचारसंहिताको कसीमा ल्याउने काम सम्भवतः दक्षिण एशियामै पहिलो प्रयोग हो ।
उस्तै उस्तै नाम राखेर अनलाईन खुल्ने र बदमासी गर्ने प्रवृत्तिलाई पूर्णतः रोकेका छौं ।

नेपाली मिडियाको प्रिन्टदेखि पछिल्लो डिजिटल मिडियासम्मको गहन अध्ययन गरी दस्तावेज तयार हुँदैछ । पत्रकारिताका सबै विधाको अध्ययन समेटिएको यो पुस्तक नेपालमै पहिलो हुनेछ । यस सोध र अनुसन्धानमा सहभागी कतिपय अनुहारलाई मैले आज यो हलमा देखेको छु । उहाँहरुलाई समेत विशेष नमन गर्न चाहान्छु ।
त्यस्तै, देशका सबै प्रदेशमा पुगेर नेपालको मिडियाको वर्तमान अवस्थाबारे अनुगमनसम्बन्धी दस्तावेज पनि तयार भएको छ, जहाँ जनमानसको मिडियाप्रतिको दृष्टिकोण, पत्रकार को हो ? को होइन ? जस्ता प्रश्नको उत्तर जस्ता विषय समावेश छन् ।

त्यस्तै, सञ्चारग्राममा नेपालमा पहिले भित्रिएको गिद्धे प्रेस देखि सबै खालका छापाखाना सामाग्रीको संग्रह गर्नका लागि ३ वर्ष अघि नै राष्टिय प्रेस संग्राहलय स्थापना भएको छ । त्यसलाई ठोस आकार दिन पर्याप्त स्रोत साधनको लागि नेपाल सरकारले अगुवाई गर्नुपर्नेछ । इतिहासका विभिन्न कालखण्डमा भएका मुद्रणलाई एकै परिसरमा राख्ने यो अवधारणसहितको संग्राहलय पनि विश्वमै नमुना हुनेछ । यसलाई पुरा गर्नु सिंगो देशको गर्वको कुरा हो, म माननीय मन्त्रीज्यूलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहान्छु ।

विभिन्न ९ मातृभाषामा पत्रकार आचारसंहिताको प्रकाशन गरी प्रचारप्रसार गरेका छौं । वर्षभरी मिडिया क्षेत्रको गतिविधि र समिक्षासहितको अंग्रेजी प्रकासन एअर बुक नियमित छ । यसको चौथो संस्करण आजै महामहिम ज्यूबाट सार्वजनिक हुँदैछ ।  

। पत्रकारितालाई थप प्रभावकारी बनाउन मिडिया साक्षरता बढाउनुपर्छ र त्यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव हामी राख्न चाहान्छौं । मिडिया जगत कति सुधार भयो रु भन्ने प्रश्न सँगै त्यो कामका लागि सरकारले कति टेवा पुर्याइरहेको छ भनेर समेत हेर्नुपर्ने अवस्था छ ।

आज यस कार्यक्रममा नेपाली पत्रकारिताको सिंगो उपस्थिति झल्केको अनुभूति भएको छ । डोटीको अरुण बम, रुकुम पश्चिमका प्रविर ददेलदेखि लमजुंगका आश गुरुंग, बाजुराका संगिता तिमिल्सिना, सप्तरीका श्रवण देव देखि भोजपुरका ध्रुव सुवेदीसम्म । कालिकोटका भरत विष्टदेखि जाजरकोटका राजेन्द्र कार्कीसम्म । अरु पनि हामी यही हलमा छौं । अर्थात एउटा सानो विविधतायुक्त र समावेशी नेपालको पत्रकारिताको अनुहार यहीं छ ।

वार्षिकोत्सवका अवसरमा सम्मानित र पुरस्कृत सबै महानुभावहरुलाई बधाई दिन चाहान्छु । काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतसहित सबै पूर्व अध्यक्षहरुलाई म विशेष रुपमा सम्झन चाहान्छु ।

अन्तमा, नकरात्मकता र गालीको संस्कृति होइन, रचनात्मक र सहकार्यको विकासमा लाग्दा मात्र देशमा हरियाली आउँछ । पत्रकारिता फस्टाउँछ । पत्रकारिता बलियो भए देशमा भएको अस्थिरता हटाउन बल पुग्छ । यसले जनताको मुहारमा हाँसो ल्याउन सकिन्छ ।

(प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवको अवसरमा आइतबार अध्यक्ष बस्नेतद्धारा राष्टपति भवनमा आयोजित विशेष कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश )