छोरीसँग जबरजस्ती यौन सम्बन्ध राखेको आरोपमा बाबुलाई १० वर्षको जेल सजाय

छोरीसँग जबरजस्ती यौन सम्बन्ध राखेको आरोपमा ३९ वर्षीय बाबुलाई हङकङको उच्च अदालते सोमबार १० वर्षको जेल सजाय सुनाएको छ।

एलकेएच भनिएका प्रतिवादीले छोरीलाई तीन पटकसम्म बलात्कार गरेको अदालतसामु स्वीकार गरिसकेका छन्। २०२१ को मार्च र अप्रिलको बीचमा तीन पटकसम्म जबरजस्ती यौन सम्बन्ध राखेको स्वीकारेका हुन्। घटनाको समयमा ११ वर्षकी छोरीसँग उनले सातिनको सार्वजनिक आवास इकाइस्थित घरमा यस्तो कुकृत्य गरेका थिए।

पीडक एलकेएच यातायात मजदुर हुन्। घटनाको समयमा भने उनी बेरोजगार रहेको बुझिएको छ। मार्चमा पहिलो पटकको कुकृत्यपश्चात् उनले छोरीसँग माफी माग्दै आमालाई नभन्न आग्रह गरेका थिए।

फेरि, अप्रिलमा दुई पटकसम्म उही कृत्य दोहोर्‍याए। त्यसपछि उनले आफ्नी साथीको आमालाई घटनाबारे बताएकी थिइन्। त्यसपछि प्रहरीमा उजुरी दिइएको थियो। सोमबार सजाय सुनाउँदै उच्च अदालतका न्यायाधीश एन्ड्र्यु चानले खराबमध्येको एक घटनाको रूपमा वर्णन गर्दै छोरीमाथिको ठूलो विश्वासघात भनी निन्दा गरे। प्रतिवादीको यस्तो हर्कतले छोरीलाई डिप्रेसनको गम्भीर लक्षणमा पुर्‍याएको र यसले जीवनभर असर गर्न सक्ने बताए।