धादिङमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु

धादिङ- धादिङमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिन्चोकको काफलगैरीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको हाे ।

त्रिपुरासुन्दरी गाउँपालिकाकाे अनुसार घरमाथिबाट पहिरो खस्दा २२ वर्षीय मिलन खाँड, उनकी श्रीमती १९ वर्षीया सम्झना खाँड र उनीहरुको डेढ वर्षीय छोराको पनि मृत्यु भएको हाे ।

रातिको समयमा पहिरो खस्दा घरभित्र भएका कोही पनि निस्कन नभ्याउँदा सबैजनाको ज्यान गएको हो ।

मृतक तीनै जनाको शव स्थानीयवासी र प्रहरीले पहिरोबाट बाहिर निकालेका छन् ।

पहिरोमा परेर थप पाँच घर संकटमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

त्रिपुरासुन्दरीमा समेत गरी धादिङमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या बुधबार विहानसम्म चारजना पुगेको छ ।

मंगलबार गजुरी गाउँपालिकामा १७ वर्षीया किशोरीको ज्यान गएको थियो। थांक्रेमा एकजनालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बेनीघाट रोराङकी एक बालिकाको उपचार भइरहेको छ।