प्रदेश १को मुख्य मन्त्री राजेन्द्र राइ निश्चित

प्रदेश १ को विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गरेपछि कात्तिक ७ गतेको लागि तय भएको हालका मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतमाथिको मतदान नै स्थगित भएको थियो ।

आचार्यको विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची छ । विश्वासको मतमाथि मतदान हुने अघिल्लो दिन आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राईलाई अघि सार्ने निर्णय गरेको हो ।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । सभामुख र एक जना फरार अभियुक्त रहेकोले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् । गठबन्धनमा रहेको काङ्ग्रेसँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन