अमेरिकाको व्योमिङको जंगल क्षेत्रमा विमान दुर्घटना

 अमेरिकाको व्योमिङको जंगल क्षेत्रमा विमान दुर्घटना भएको छ। दुर्घटनाका कारण जिलेट नगर नजिकै फैलिएको १० एकडको जंगलमा आगो लागेको छ।

क्याम्पबेल काउन्टीका अधिकारीले सोशल मीडियामार्फत उक्त दुर्घटनाको जानकारी दिएका छन्। दुर्घटना जिलेट नगर नजिकै स्थानीय समय शुक्रवार दिउँसो १ बजे भएको थियो। क्याम्पबेल काउन्टी अन्डरशेरिफ क्वेन्टिन रेनल्ड्सले दुर्घटना हुनुपूर्व विमानका चालकले विमानमा गडबडी भएकाले आपत्‌को अवस्थामा रहेको जानकारी दिएका थिए। चालको सूचना आएलगत्तै विमान दुर्घटनामा परेको थियो। 

विमान करिब १० हजार फिटको उचाइमा रहेका वेला दुर्घटनाग्रस्त भएको थियो।दुर्घटनास्थल नजिकै धुवाँको मुस्लो देखेपछि स्थानीय बासिन्दाले फोनमार्फत प्रशासनलाई जानकारी दिएका थिए। अधिकारीहरूले विमान दुर्घटनाका कारण जंगलमा भीषण आगलागी भएको बताएका छन्।उद्धारकर्ता दुर्घटनास्थलमा स्थानीय समय शुक्रवार साँझसम्म पुगेका थिएनन्। शनिवार उनीहरू पुग्ने अपेक्षा गरिएको छ।

विमानमा चढेका यात्रीका बारेमा कुनै जानकारी उपलब्ध हुन सकेको छैन। सबै यात्री मरेको आशंका गरिएको छ।कैयौँ मीडियाले विमानमा ७ जना रहेको दावी गरेका छन्। विमानले नेब्रास्कामा इन्धन भरेको थियो। नेब्रास्का सिटी एयरपोर्टका व्यवस्थापकले उक्त विमानमा २०० ग्यालेन इन्धन भरेको जानकारी दिएका छन्।