ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

ताइपेई–ताइवानमा ‘टाइफुन गेमी’ आँधी (चक्रवात) का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । 

आँधीले एक जना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएको केन्द्रीय आपत्कालीन सञ्चालन केन्द्र (सीईओसी) ले जनाएको छ । पछिल्लो समय आँधी ताइवानबाट चीन पुगेको छ । यद्यपि, मध्य र दक्षिणी ताइवानमा अविरल वर्षा जारी रहने त्यहाँको सञ्चारमाध्यम फोकस ताइवानले रिपोर्ट गरेको छ ।

आँधी प्रभावित क्षेत्रमा भएका विभिन्न दुर्घटनामा परी मानिसहरूले ज्यान गुमाएको फोकस ताइवानले जनाएको छ ।ज्यान गुमाउनेहरूको अहिलेसम्म पहिचान हुन नसकेको जनाइएको छ । सरकारी अधिकारीहरूले बेपत्ताहरूको खोजी गरिरहेका छन् ।

सीईओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार २३२ जनालाई सुरक्षित राख्नका लागि २७९  वटा आपत्कालीन शिविर निर्माण गरिएको छ ।केन्द्रले ताइवानको पूर्वी र दक्षिणी भागमा अझै पनि भारी वर्षाको सम्भावना  रहेको जनाएको छ ।