पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको चुनाव लड्ने

 पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको चुनावमा लड्न चाहना राखेका छन् । यो पदमा २१ वर्षदेखि कार्यरत ८० वर्षीय लर्ड प्याटनले राजीनामा दिएपछि रिक्त हुँदा खानले यस्तो चाहना राखेका हुन् ।

बेलायती समाचार ‘द टेलिग्राफ’का अनुसार खानले पाकिस्तानको जेलबाट अक्सफोर्ड विश्वविद्यालयको कुलपति पदका लागि चुनाव लड्नेछन् । खान १० वर्षको जेल सजाय भोगिरहे पनि उनले अनलाइनबाटै चुनाव लड्ने बताइएको छ ।

बेलायती अखबारका अनुसार कुलपतिको पद विश्वविद्यालयबाट स्नातक गरिसकेकाहरूले मात्र पाउने गर्दछन् । खानले अक्सफोर्ड विश्वविद्यालयबाट शिक्षा हासिल गरेका छन् । बेलायती पूर्वप्रधानमन्त्री सर टोनी ब्लेयर र बोरिस जोन्सन पनि विश्वविद्यालयको कुलपति बन्ने दाउमा छन् । यद्यपि खान आफैँ वा उनको पार्टी पीटीआईको तर्फबाट कुनै आधिकारिक बयान आएको छैन ।

खान यसअघि सन् २००५ मा ब्राडफोर्ड विश्वविद्यालयको कुलपति बनिसकेका छन् । जुन पद उनले सन् २०१४ सम्म सम्हालेका थिए । खान अगस्ट २०२३ देखि जेलमा छन् ।