अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले खोलिन् टिकटक अकाउन्ट

 अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले चर्चित सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमा अकाउन्ट खोलेकी छिन् । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने चर्चाका बीच आगामी राष्टपति चुनावकी सम्भावित उम्मेदवार समेत रहेकी कमलाले अकाउन्ट खोलेकी हुन् । 

टिकटक चिनियाँ कम्पनी बाइटडान्सलेले सञ्चालन गरिरहेको सामाजिक सञ्जाल हो, जसले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने आशंकामा अनुसन्धान भइरहेको छ । 

यसबीच, ह्यारिसको टिकटक प्रवेशले समर्थक र आलोचकहरूबीच विभिन्न प्रतिक्रियाहरू जन्माएको छ । समर्थकहरूले यसलाई सामाजिक सञ्जालमा युवा सहभागिता बढाउने राम्रो प्रयासका रूपमा स्वागत गरेका छन् भने आलोचकहरूले यसलाई विवादास्पद प्लेटफर्मप्रति समर्थन देखाएको भन्दै विरोध जनाएका छन् । यसले राजनीतिमा टिकटकको भूमिकाबारे थप छलफल र विवाद उत्पन्न गराएको छ ।

ह्यारिसले टिकटक अकाउन्ट खोलेको ११ घण्टाको अवधिमा १३ लाखभन्दा बढीले उनलाई फलो गरिसकेका छन् । यस समाचार तयार पार्दासम्म उनको अकाउन्टमा एउटा भिडिओ अपलोड भएको छ, जसमा उनले पहिले आफू 'For You Page' मा आएको खबर सुनेको र अहिले आफैं यसमा आएको बताएकी छिन् । टिकटकमा उनको युजरनेम @kamalaharris र अकाउन्ट नेम ‘कमला ह्यारिस’ रहेको छ ।

अमेरिकी युवा मतदातासम्म पुग्न ह्यारिसले टिकटक अकाउन्ट खोलेको हुन सक्ने अनुमान गरिएको छ । यसअघि डोनाल्ड ट्रम्पले पनि राष्ट्रपति उम्मेदवार हुने निश्चित भएपछि टिकटकमा अकाउन्ट खोलेका थिए । यसले राजनीतिज्ञहरूका लागि चुनावमा आफ्नो प्रचारप्रसार गर्न टिकटक एक गतिलो माध्यम बनेको विश्लेषण गरिएको छ ।

ह्यारिसको यो कदमले प्रशासनको नीतिगत दृष्टिकोणमा परिवर्तन भएको संकेत गरेको छ ।