पाकिस्तानी अर्थमन्त्री चीनमा, ऊर्जा क्षेत्रको कर्जामा राहतका लागि छलफल केन्द्रित

चीन भ्रमणमा रहेका पाकिस्तानी अर्थमन्त्री मुहम्मद औरङ्गजेबले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा देशलाई ऊर्जा क्षेत्रको ऋणबाट राहतका लागि छलफल गर्नुभएको छ ।औरङ्गजेब र पाकिस्तानका ऊर्जा मन्त्री सरदार अवैस लघारीले बिहीबार बेइजिङमा चिनियाँ अर्थमन्त्री लान फोआनसँगको भेटवार्तामा यस विषयमा छलफल गरेको पाकिस्तानी दैनिक पत्रिका एक्सप्रेस ट्रिब्यूनले शुक्रबार जनाएको छ ।

 भेट वार्तामा मन्त्रीहरूले ऊर्जा ऋण तिर्न, अमेरिकी डलरमा आधारित ब्याज भुक्तानीलाई चिनियाँ मुद्रामा रूपान्तरण गर्न चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) र अन्य चिनियाँ वित्त पोषित परियोजनाहरूका लागि ब्याज दरहरू घटाउन आठ वर्षको म्याद थप गर्न अनुरोध गर्नुभएको छ । 

मन्त्रीहरूले औपचारिक रूपमा चीनलाई कर्जा पुनर्निर्धारण गर्न अनुरोध गर्दै सिपिइसी पावर प्रोजेक्टको बक्यौता ४४ प्रतिशतले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा पाकिस्तानको  ४०१ अर्ब रुपैयाँ पुगेको छ ।
भेटघाटको उद्देश्य ऊर्जा लागत घटाउनु र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट सात  अर्ब डलरको सहयोग प्याकेजको स्वीकृति सुरक्षित गर्नु हो ।

चीन र पाकिस्तानबीच सन् २०१५ मा हस्ताक्षर भएको सिपिइसी ऊर्जा फ्रेमवर्क सम्झौता अनुसार पाकिस्तानले भुक्तानी गरी सक्नुपर्नेमा सो बमोजिम नहुँदा दुई देशबिच थप वित्तीय र व्यावसायिक सम्बन्धमा बाधा पुगेको छ ।