अमेरिकामा डीपफेक बनाउनेमाथि मुद्दा हाल्न सकिने

अमेरिकी सिनेटले मंगलबार डीपफेक मार्फत् अश्लील सामग्री बनाउने र सेयर गर्नेविरुद्धको विधेयक निर्विरोध पारित गरेको छ ।

छोटकरीमा डिफायन्स डिस्रप्ट एक्स्प्लिसिट फोर्ज्ड इमेजेज एण्ड नन कन्सेन्सुअल ईडिट्स एक्ट नामक उक्त विधेयकले डीपफेकका पीडितहरुलाई आफूजस्तै देखिने डीपफेक सामग्रीहरु निर्माण शेयर तथा एआईले निर्माण गरेका अश्लील फोटो र भिडियोमा समावेश गर्नेहरुविरुद्ध मुद्दा हाल्न पाउने अधिकार प्रदान गर्दछ ।

गत वर्ष अनलाइन तथा सामाजिक सञ्जालमा गायिका टेलर स्विफ्टको डीपफेक भिडियो फैलिएपछि सर्वसाधारणले यसप्रति गम्भीर चासो दिएका थिए ।

उक्त विधेयकमार्फत् पीडितले डीपफेक निर्माताविरुद्ध १ लाख ५० हजार डलरसम्म क्षतिपूर्तिको मागसहित उजुरी गर्न सक्छन् । यदि उक्त डीपफेकको सामग्री यौनजन्य वा अश्लील भएकमा क्षतिपूर्ति रकम २ लाख ५० हजार डलरसम्म पुग्न सक्ने रोयटर्सले उल्लेख गरेको छ।

यो विधेयक अब सदनमा जानेछ जहाँ रिपब्लिकन सांसदले यसैसँग सम्बन्धित अर्को विधेयक पारित गराउनका लागि लिएर गएका छन्।

यो विधेयक सदनबाट पार्त भएको खण्डमा अन्तिम अनुमोदनका लागि राष्ट्रपति बाइडेनसमक्ष पुग्नेछ ।

सिनेटर डिक डर्बिनले अगाडि बढाएको उक्त विधेयकले डीपफेकका पीडितहरुलाई उजुरी गर्नका लागि सामग्री भेटिएको मितिबाट १० वर्षको समयसीमा प्रदान गर्नेछ। नाबालकको हकमा भने १८ वर्ष पुगेपछिको १० वर्षसम्म उजुरी गर्न पाउने व्यवस्था गर्ने समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।