भारतमा मुस्लिम महिलाले सम्बन्धविच्छेदपछि पूर्वपतिबाट भत्ता माग्न पाउने

भारतको सर्वाेच्च अदालतले बुधवार एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै फौजदारी प्रक्रिया संहिताको धारा १२५ अन्तर्गत मुस्लिम महिलाले सम्बन्धविच्छेदपछि पूर्वपतिबाट गुजारा भत्ता माग्न सक्ने बताएको छ ।

न्यायाधीश बीवी नागरथनाको नेतृत्वको दुई सदस्यीय इजलासले यस धारा अन्तर्गत गुजारा भत्ता माग गरेकी एक मुस्लिम महिलाको मुद्दाको सुनुवाइ गर्दै यस्तो फैसला गरेको हो । 

१० हजार गुजारा भत्ता दिन तेलंगाना उच्च न्यायालयले सुनाएको आदेशलाई एक मुस्लिम पुरुषले चुनौती दिएका थिए । मुस्लिम महिलाहरूको सम्बन्ध विच्छेदमा छुट्टै कानून लागू हुने भन्दै धारा १२५ अनुसार गुजारा भत्ता पाउन नसक्ने उनको वकिलको तर्क थियो । दुवै न्यायाधीशले सर्वसम्मतिले यो निर्णय गरेका हुन् । यसबारे फैसला लेख्न बाँकी भएको बताइएको छ ।

सन् १९८५ मा सर्वाेच्च अदालतले धारा १५ धर्मनिरपेक्ष कानून भएको र यो सबै महिलाहरुमा लागू हुने भनेको थियो । यो फैसलापछि व्यापक स्तरमा विरोध सुरु भएको थियो । त्यसपछि सन् १९८६ मा सरकारले मुस्लिम महिलाको सम्बन्ध विच्छेदका लागि छुट्टै अधिकार संरक्षण ऐन पारित गरेको थियो ।