कोपा अमेरिका २०२४ : इक्वेडरलाई ४-२ गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा

पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ । एनआरजी स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४-२ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि सेमिफाइनलमा पुग्ने टोलीको छिनोफानो पेनाल्टी सुटआउट बाट गरिएको हो ।

पेनाल्टी सुट आउटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले दुई पेनाल्टी बचाउनुभयो । कप्तान लियोनल मेसीको पहिलो पेनाल्टी बारमा लाग्दा मार्टिनेजले लगातार दुई पेनाल्टी बचाउँदै अर्जेन्टिनालाई अन्तिम चारमा प्रवेश गराउनुभएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले पेनाल्टी सुटआउटमा गोल गर्नुभयो । इक्वेडरका जोन येबोह र जोर्डी काइसिडोले मात्रै पेनाल्टी सुट आउटमा गोल गर्न सफल हुनुभयो । एन्जल मेना र एलन मिन्डाको प्रहार इमिलियानो मार्टिनेजले रोक्नुभयो ।

त्यसअघि खेलको ३५औँ मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाउनुभएको थियो । उहाँले एलेक्सिस म्याक एलिस्टरको पासमा गोल गर्नुभएको थियो । ६२औँ मिनेटमा इक्वेडरले खेललाई बराबरीमा ल्याउने मौका पाएको थियो । तर, इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न नसकेपछि मौका गुमाएको थियो । तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जोन येबोहको पासमा केभिन रोड्रिग्जले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याउनुभएको थियो ।

अर्जेन्टिनाले अब भेनेजुएला र क्यानडा बीचको विजेताविरुद्ध सेमिफाइनलमा खेल्नेछ । सो खेल शनिबार बिहान हुनेछ । अर्जेन्टिनाले कोपा-अमेरिकामा फुटबलमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । अर्जेन्टिना सबैभन्दा बढी कोपा–अमेरिकाको उपाधि जित्ने राष्ट्र पनि हो । हालसम्म अर्जेन्टिनाले १५ पटक उपाधि चुमिसकेको छ ।