ओझेलमा धरानको गुराँसेडाँडा
धरानको गुराँसेडाँडाका बारेमा भने अधिकांश धरानवासी नै अनिभिज्ञ छन् । प्राकृतिक र पर्यटकीय गन्तव्यको रुपमा रहेको धरान उपमहानगरपालिका–२० विष्णुपादुकामा गुराँस फुल्ने जङ्गल छ भन्ने चर्चा अहिलेसम्म भएको थिएन ।
पहिलोपटक नेपाली कांग्रेस सुनसरी–१ क्षेत्रीय समितिले हालै धरान उपमहानगरपालिका–२० विष्णुपादुकाको वंशिलामा लालीगुराँस वृक्षरोपण कार्यक्रम आयोजना गर्दा त्यहाँ गुराँस फुल्ने गर्छ भन्ने कुराले धेरैलाई आश्चर्य बनाएको थियो । वंशिला र महाभारत डाँडा क्षेत्रमा ६२६ वटा गुराँसका बिरुवा रोपिएको थियो ।
वंशिला क्षेत्र डाँडा समुद्र सतहदेखि १४ सय मिटर माथिको उचाइमा रहेकाले यस ठाउँमा लालीगुराँस फुल्ने उपयुक्त हावापानी रहेको हुँदा वृक्षरोपण गरिएको नेपाली कांग्रेस सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “धरानलाई लालीगुराँसको सहर भनेर स्थापित गर्ने उद्देश्यले लालीगुराँसको बिरुवा रोपण गरिएको हो ।” गुराँस र उच्च पहाडी क्षेत्रप्रति पर्यटकीय आकर्षणलाई धरानमै केन्द्रित गराउन वंशिलामा गुराँस संरक्षण र विकासको अभियान सुरु गरिएको बताउँदै तामाङले यो क्षेत्रको पर्यटकीय महत्व प्रचारप्रसारमा आएपछि यहाँको सडक पूर्वाधार र भौतिक विकासको ढोका खुल्ने छ भन्नुभयो ।’
गुराँसका बिरुवा रोप्ने कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका नेता डा शेखर कोइरालाले धरानको विकट क्षेत्रहरुमा विकासको लागि रचनात्मक कदमको जरुरी रहेको बताउनुभयो । उहाँले लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै लालीगुराँस संरक्षण अभियानमा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।
मौसम सफा भएको समयमा यस क्षेत्रबाट मकालु र कञ्चनजङ्घा हिमालको दृश्य मज्जाले अवलोकन गर्न सकिने स्थानीय विक्रम तामाङ बताउनुहुन्छ । दृश्यालोकन गर्नेहरूका लागि महाभारत पर्वत शृङ्खला उत्तरका पहाडी जिल्लाहरू र दक्षिणतर्फ धरान बजारदेखि तलतिरका इटहरी, चारकोशे जङ्गल, सर्दु, खर्दु, भेडेटारलगायतका रमणीय ठाउँहरुको अवलोकन गर्न सकिन्छ । पहाडी क्षेत्रको चिसो वातावरणका साथै गुराँस फुलेको हेर्न पर्यटकहरू तेह्रथुमदेखि ताप्लेजुङसम्म ठूलै खर्च गरेर पुग्ने गरेका छन् ।
यस क्षेत्रमा रैथाने लालीगुराँसको जङ्गल रहेको धरान उपमहानगरपालिका–२० वडा सदस्य देवेन्द्र राईले बताउनुभयो । विष्णुपाउ सामुदायिक वनको वंशिलादेखि महाभारत डाँडा क्षेत्रको जङ्गलमा फागुन, चैत महिनामा गुराँस ढकमक्क फुल्ने गर्दछ । यहाँ पाइने लालीगुराँस तेह्रथुमको तिनजुरे मिल्केतिरको भन्दा फरक प्रजातिको रैथाने गुराँस भएको अनुमान गरिए पनि कुन प्रजातिको भन्ने विज्ञहरूबाट यकिन नभएको उहाँको भनाइ छ ।
गुराँसको जङ्गलसँगै अन्य प्रजातिका रुखहरू पनि भएकाले गुराँसको वन विस्तारै नासिँदै गएको स्थानीयवासी बताउँछन् । वडासदस्य राईले भन्नुभयो, “वर्षौंपच्छे लाग्ने डढेलोका कारण नयाँ गुराँस हुर्कन नपाउने पुराना रुख डढ्ने गरेकाले अरू बोट बिरुवा बढेको छ ।”
वंशिला, महाभारत डाँडा धरान उपमहानगरपालिका– १७ मङ्गलबारे बजार क्षेत्रबाट करिब १४ किलोमिटर दूरीमा छ । मङ्गलबारेबाट धरान भञ्ज्जाङ सात किलोमिटर, भञ्जाङबाट विष्णुपादुका मन्दिर दुई किलोमिटर र मन्दिरबाट वंशिला झन्डै छ किलोमिटरको दूरीमा पर्दछ । स्थानीयवासीले गरेको श्रमदान र धरान उपमहानगरपालिकाले रु चार लाख बजेटबाट विष्णुपादुका मन्दिरबाट माथि गाडी सवारी चल्न सक्ने पाँच किलोमिटर सडक निर्माण गरिएको छ । भिरको जोखिमपूर्ण बाटोमा कहीँ पनि टेवा पर्खाल र भित्ताबाट वर्षाको पानी बग्ने खोल्सा र नाला पनि छैन भने वर्षायाममा ठाउँठाउँमा जाने ससाना पहिरोले अवरुद्ध हुने गरेको छ ।
वंशिला नजिकै महाभारत डाँडा रहेको छ भने १५ सय मिटरको उचाइमा हिमालय ध्यान केन्द्र स्थापना गरिएको छ । यो डाँँडा महाभारत पर्वत शृङ्खलाको सुनसरी–धनकुटा सिमानामा पर्दछ । ध्यान केन्द्रमा फर्पिङबाट आएका गुरु सोनाम लामाले यस क्षेत्रको मौसम आनन्ददायक रहेको बताउनुभयो । यस क्षेत्रमा पहाडी भेगको जस्तो हावापानी रहेको छ लामाको भनाइ छ । यसअघि यस क्षेत्रमा घाँस, दाउरा गर्ने, सिकार खेल्नेबाहेक कोही पनि पुग्ने गरेका थिएनन् ।
![पृथ्वीको नजिक आउँदै उल्कापिण्ड,पृथ्वीको लागि बन्न सक्छ खतरा](https://snowberry.prixacdn.net/media/gallery_folder/main-qimg-745cb8f859c39b1b3ff2c1b96dc19467-lq_WN8qdTWkPl_4wvn9s2exnc3jfv8szwoz4zoccnrlrivjfmvbz1qs1ue2fyfdxuza03yslkt_gQPNmA9hdJ_gdsizqt8q5r0ms1vixax9tdxwr5wnms6zjwssmual6umw6blhzbfaautiilu.jpeg)
पृथ्वीको नजिक आउँदै उल्कापिण्ड,पृथ्वीको लागि बन्न सक्छ खतरा
![बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो](https://snowberry.prixacdn.net/media/gallery_folder/bagmati-pradesh-mukhyamantri-office_GQCKm9T5q8_a7oxxulddnhz74fh66rppbardltxwlkrqb5jtqfksno3vfphslbauihnvaoq_4PJViBjkPc_hl3rzkiwpu8vv2sxnz2jzebqnvkamehs2fskz3ajg5rmeq9uihxmahkwkc7j.jpg)
बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो
![पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
![दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन](https://snowberry.prixacdn.net/media/gallery_folder/bishnumati-badhi_wXLEN7fBVb_YChZS1gTNC_y3y0kld4trmvbxrpmfu3w7dgumjwomywtqseqxijfzlpxbs6l3iifwhbxo9t_8WpGySi1EJ_j8psrlhntincflvysvbqamdfiroyvw6odo8n20hhcrljgcclf4tacgu4skq0.jpg)
दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन
ऐतिहासिक धारा पुनःनिर्माण
![अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak-10-scaled_iq8crZwJX3_qtvfxvxmgbtztdp2jl7qgxzqilcmuhd1vs1w2hhiqxlty0occoxe3xhao9uz_5qE3W4VIaw_3hum6ghj8poiwqtabikqwiuptrvmhkwxsqoiznynaucwvww3kdrkpzmwstog.jpg)
अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध
![“आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान,](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
“आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान,
![बाढीका कारण कञ्चनपुरमा एक हजार छ सय २२ जना प्रभावित](https://snowberry.prixacdn.net/media/gallery_folder/badi-kailali2_mHqCD6F3DT_a9fat4fxeoorhvlnbxpbj1jjt55mhnrrqloumeak89t5kzfwtsjfpzjhzbf3_BGwZaWaSG5_fpbhou7crgydzhabdcav5m0mbn4hfcghv7kbqik6mcj9fjvrve2boewtn42d.webp)
प्रतिक्रिया