क्रिस्टियानो रोनाल्डो माथि एम्बुस मार्केटिङ गरेको आरोप

 क्रिस्टियानो रोनाल्डो माथि एम्बुस मार्केटिङ गरेको आरोप लागेको छ । जारी युरोकपमा सोल्भेनिया विरुद्ध पोर्चुगलले हासिल गरेको नाटकीय खेलका क्रममा मापन गरिएको रोनाल्डोको मुटुको चाल सम्बन्धी डेटा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीमाथि यस्तो आरोप लागेको हो ।

पहिले नै आधिकारिक स्पोन्सर सम्बद्ध भइसकेको प्रतियोगितामा अर्को कम्पनीले आफ्नो उत्पादन तथा सेवा समावेश गराउने जस्तो गैरकानूनी अभ्यास भएको उल्लेख छ । यो सन्दर्भमा सन् २०१२ को युरो कपमा निकोलस बेन्टनरले गोल गरेपछिको सेलिब्रेसनमा आफ्नो टी-शर्ट माथि सार्दा उनले लगाएको अन्डरवेयर प्याड्डी पावरको ब्रान्ड देखिएको थियो ।

डेनमार्कका ती खेलाडीमाथि पछि ८० हजार युरो जरिबाना लगाउँदै एउटा खेलको प्रतिबन्ध लगाइएको थियो । रोनाल्डोको विषयमा भने फिटनेस कम्पनी हूपसँगको सहकार्य रहेको देखिएको छ । यो कम्पनीले मुटुको चाल, खेलाडीहरूको प्रदर्शन र निन्द्राको अङ्क आदि मापन गर्न मिल्ने पहिरिन (वेयरेबल फिटनेस कम्पनी) उपकरणहरू डिजाइन गर्दै आएको छ । ३९ वर्षीय रोनाल्डोले जारी युरोकपको खेलका क्रममा उक्त कम्पनीको एउटा उपकरण लगाएका थिए ।

पेनाल्टी शुटआउटमा पोर्चुगलले जित हात पार्दै गर्दा उक्त उपकरणले मापन गरेको रोनाल्डोको मुटुको चाल सम्बन्धी डेटा कम्पनीले मङ्गलबार प्रकाशित गरेको थियो । भिजा र कोका-कोलाका लागि ग्लोबल स्पोन्सरशिप प्रमुख रहीसकेका रिकार्डो फोर्टले उक्त पोस्ट एम्बुस मार्केटिङको स्पष्ट उदाहरण भएको तथा खेलाडी र कम्पनी दुवैलाई जरिवाना हुनुपर्ने बताएका छन् ।

"आज यो चार्ट फैलिरहेको छ," उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "युरो २०२४ मा क्रिस्टियानो रोनाल्डो र हुपले एम्बुस मार्केटिङ गरिरहेका छन् । यो गैरकानुनी हो अनि खेलाडी र कम्पनी दुवैलाई जरिबाना हुनुपर्छ ।"

रोनाल्डो हूपका लगानीकर्ता र ब्रान्ड एम्बेस्डर हुन् । खेलका क्रममा रोनाल्डोले आफ्नो बायाँ नाडीको ब्यान्डेजभित्र हुप डिभाइस लगाएको र त्यसैबाट उक्त कम्पनीले उनको मुटुको चाल सम्बन्धी डेटा प्राप्त गरेको बताइएको छ । हूप जारी युरोकपको आधिकारिक स्पोन्सर भने होइन ।

 

Image