उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो , सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो नियन्त्रणबाहिर गएपछि सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश दिएको छ । २५ हजार जनाभन्दा धेरै मानिसलाई तुरुन्तै आफ्नो घर खाली गर्न निर्देशन दिइएको सञ्चारमाध्यम एनबीसीले जनाएको छ । १४ सय जना अग्नि नियन्त्रक र सयौँ दमकल तथा हवाई जहाजबाट पानी खन्याउँदा पनि डढेलो निभेको छैन ।

अमेरिकामा केही ठाउँमा गर्मीले रेकर्ड तोडिरहेको बेलामा क्यालिफोर्नियाको आगलागीले जनजीवन झनै अस्तव्यस्त बनाएको छ । तापक्रम ४६ डिग्री सेल्सियस पुगेको छ । तीव्र हावाहुरी र गर्मीका कारण आगो निभाउने प्रयास असफल भइरहेको समाचार संस्था एएफपीले जनाएको छ । अहिलेसम्म १ हजार ४ सय हेक्टरभन्दा धेरै क्षेत्र आगलागीले नष्ट भएको छ ।

क्यालिफोर्नियामा यसअघि पनि आगलागीका कारण पटक पटक ठूलो क्षति भएको छ । सन् २०१८ मा भएको आगलागीका कारण ८५ जनाको ज्यान गएको थियो ।

जलवायु वैज्ञानिकहरूका अनुसार अहिले पश्चिमी अमेरिका दशकौँ लामो सुक्खापनबाट गुज्रिरहेको छ । वनमा भएका पोखरी र नदीमा पानी देखिन छाडेको र वनस्पतिहरू तीव्र गतिमा सुक्दै गइरहेका छन् ।