बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलाले गरे आत्महत्या , बेहुलीको उजाडियो सिउँदो

 बेहुली भित्र्याएको केही घण्टामै बेहुलाले आत्महत्या गरेका हुन् । घटना भारतको उत्तर प्रदेश राज्यको इटावा जिल्लाको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उसरहार गाउँमा अवकाश प्राप्त सैनिक ज्ञान सिंहका छोरा सत्येन्द्रको बिहे थियो ।

मंगलबार जन्तीसहित बेहुलीको घरमा पुगेका सत्येन्द्र बुधबार बेहुली लिएर दिउँसो करिब दुई बजे घर फर्किए । बेहुली भित्र्याउने प्रक्रिया चलिरहेको थियो । बेलुकाका लागि डीजेसहित मनोरञ्जनका कार्यक्रम आयोजना गरिएको थियो, जसका लागि बेहुला आफैँले रकमसमेत भुक्तानी गरिसकेका थिए ।

तर यसबिचमै घरको दोस्रो तलामा बेहुला सत्येन्द्र आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परे । तत्कालै उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे । प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सत्येन्द्रले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन ।