साङ्घाई गठबन्धन ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’ : पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ । उहाँले बुधबार नै टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गर्नुभएको छ ।

रूसी नेता पुटिनले चिनियाँ राष्ट्रपतिसीसँगको छलफलमा साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताउनुभएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङ बिहीबार मध्य एशियामा हुने क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुनुहुने छ । साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) गठबन्धनको आयोजनामा हुने क्षेत्रीय सम्मेलनमा नेताद्वय पुटिन र सीबीच नियमित भेट हुने गरेको छ र यसको पछिल्लो सत्र कजाकिस्तानको राजधानी अस्तानामा भइरहेको छ।

सम्मेलनमा टर्कीएका राष्ट्रपति एर्दोगान पनि सहभागी हुनुहुनेछ । उहाँको देश समूहसँग ‘वार्ता साझेदार’ हो भने अन्य मुलुकमा मध्य एशियाली पूर्व सोभियत राज्यहरू, भारत, चीन, रूस र इरान पूर्ण सदस्य रहेका छन् । 

चीन, भारत, इरान, रूस, कजाखस्तान, किर्गिस्तान, उज्बेकिस्तान, पाकिस्तान र ताजिकिस्तान यसका नौ पूर्ण सदस्य राष्ट्र हुन् । पश्चिमा प्रतिबन्धित इरान पूर्ण सदस्यका रूपमा सामेल भएको एक वर्षपछि युक्रेनमा रूसको युद्धलाई समर्थन गरेको कारण बहिष्कृत भएको बेलारुस बिहीबार १० औं पूर्ण सदस्य बन्नेछ ।

रूस र चीन दुवैले विश्व मञ्चमा अमेरिकी नेतृत्वको ‘आधिपत्य’ को विरोध गर्दै आएका छन् ।मस्कोलाई समर्थन गरेको भन्दै पश्चिमा मुलुकबाट आलोचना खेपिरहेका सीले बुधबार पुटिनलाई आफ्नो ‘पुरानो मित्र’लाई फेरि भेट्न पाउँदा खुसी लागेको बताउनुभएको थियो । 

टर्कीएका राष्ट्रपति एर्दोगानले बुधबार पुटिनलाई टर्कीमा निमन्त्रणा गर्दै युक्रेनमा ‘दुवै पक्षलाई सन्तुष्ट पार्न सक्ने निष्पक्ष शान्ति’ का लागि आह्वान गर्नुभएको थियो । उहाँले युद्धरत देशहरूबीच मध्यस्थता गर्ने प्रयास गर्नुभएको छ । 

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने सहभागी हुनुभएको छैन । एससीओको स्थापना सन् २००१ मा भएको थियो तर पछिल्ला वर्षहरूमा यो निकै चर्चामा आएको छ । सङ्गठनले सुरक्षा र अर्थतन्त्रमा ध्यान केन्द्रित गर्दै अमेरिका नेतृत्वको पश्चिमी गठबन्धनसँग प्रतिस्पर्धामा सहयोगको लागि एक प्लेटफर्म हुन अभिप्रेरित गरेको छ ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले कजाखस्तानका सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा गठबन्धनले ‘वैकल्पिक अन्तर्राष्ट्रिय मञ्च, शक्तिका विभिन्न केन्द्र छन् भन्ने कुरा विश्वसामु प्रदर्शन गरेको’ भन्दै सङ्गठनको प्रशंसा गर्नुभएको छ । 

यो गठबन्धनले विश्वको ४० प्रतिशत जनसङ्ख्या र कूल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत प्रतिनिधित्व गर्ने दाबी गरेको छ तर यो पनि विवादरहित समूह भने बन्न सकेको छैन । यसका कतिपय सदस्यबीच भूगोल र राजनीतिक दृष्टिकोणका कारण आपसी मनमुटाव रहेको देखिन्छ । 

रूस र चीन पश्चिमी प्रभुत्वविरुद्ध एकजुट भएपनि मध्य एसियामा उनीहरू आर्थिक प्रतिस्पर्धी हुन् । यो क्षेत्र तेल र ग्यासमा धनी छ र एशिया र युरोपबीचको महत्त्वपूर्ण यातायात मार्ग पनि हो । चीन र भारत पनि साझा सीमा भएका दुई छिमेकी राष्ट्र हुनुको अलावा आर्थिक विकासको हिसाबबाट विश्वका प्रमुख प्रतिस्पर्धी अर्थतन्त्र हुन् । यी दुई मुलुकबीच बेला बेला सीमा क्षेत्रको बिषयलाई लिएर सम्बन्धमा उतारचढाव देखिने गर्छ ।