इन्डोनेसियाको गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

काठमाडौँ, १९ असार :इन्डोनेसियाको राजधानीको बाहिरी सहर बेकासीमा बुधबार बिहान फर्निचर गोदाममा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक रिपोर्टअनुसार स्थानीय समयानुसार बिहान ६ः४५ बजे जटियासिह क्षेत्रमा घरभित्र आगलागी भएको थियो ।

 आगो निभाउन कम्तिमा १२ वटा दमकल परिचालन गरिएको बेकासीको दमकल तथा उद्धार एजेन्सीका प्रमुख एसेङ सोलेहुदिनले बताउनुभयो । 

  उहाँका अनुसार आगलागीबाट एक अर्ब इन्डोनेसियाली रुपैयाँ (करिब ६१ हजार अमेरिकी डलर) बराबरको क्षति भएको छ ।

   यसैबीच, जटियासिहका प्रहरी प्रमुख सुरोतोले आगलागी हुँदा सबै पीडित गोदामको स्नानगृहमा फसेको बताउनुभयो ।

   पीडितहरू भवनबाट बाहिर निस्कन चाहन्थे, तर आगो तीव्ररूपमा फैलिन थालेको र बाहिर निस्कने बाटो अवरुद्ध भएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान जारी छ ।