बलात्कार आरोपमा जापानी नागरिकलाई दोषी ठहर गर्दै कैदका साथै २० लौरो हिर्काउने सजाय

सिंगापुरको एक अदालतले बलात्कार आरोपमा एक जापानीलाई दोषी ठहर गर्दै कैदका साथै लौरोले हिर्काउने सजाय सुनाएको छ।

३८ वर्षीय जापानी नागरिक इक्को किताविरुद्ध २०१९ मा एक विद्यार्थीलाई ‘बर्बर र क्रुर’ तरिकाले बलात्कार गरेको अभियोग थियो।किता सिंगापुरमा लौरोले हिर्काउने सजाय पाउने पहिलो जापानी व्यक्ति बनेका छन्।उनलाई २० लौरो हिर्काइने छ। साथै साढे १७ वर्ष उनी जेलमा रहने छन्। 

सिंगापुरमा लौरोले हिर्काउने विवादास्पद तर निकै प्रचलनमा रहेको कानुन हो। तोडफोड, लुटपाट र लागुऔषध ओसारपसारजस्ता अपराधमा त लौरोले हान्ने सजाय अनिवार्य हुन्छ।अदालतको मिसिलमा उल्लेख भएअनुसार किताले डिसेम्बर २०१९ मा ती २० वर्षीया महिलालाई एउटा नाइटक्लबमा पहिलोपटक भेटेका थिए। उनलाई नसा दिएर आफ्नो फ्ल्याटमा पुर्‍याएका थिए र बलात्कार गरेका थिए। जसको भिडिओ खिचेर उनले आफ्नो साथीलाई पठाएका थिए।

सोही दिन अपार्टमेन्टबाट भाग्न सफल ती महिलाले उजुरी गरेकी थिइन् र किता सोही दिन पक्राउ परेका थिए।यो सजायले जापानमा पनि चर्चा पाएको छ। केहीले सामाजिक सञ्जालमा लौरो हान्ने सजायप्रति आश्चर्य व्यक्त गरेका छन् भने अधिकांशले सजायको प्रशंसा गरेका छन्। सिंगापुरमा यो सजाय पाएका व्यक्तिलाई काठको लौरोले पुठ्ठामा हान्ने चलन छ। जसले स्थायी दाग बस्न सक्छ।यो कानुनको अन्तर्राष्ट्रिय चर्चा सन् १९९४ मा भएको थियो। त्यतिबेला एक १९ वर्षीय अमेरिकी नागरिकलाई सिंगापुरले तोडफोडको अपराधमा ६ लौरो हान्ने सजाय सुनाएको थियो।

त्यसलाई रोक्न तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले आग्रह गरेका थिए। यद्यपि, सिंगापुरका अधिकारीहरूले ती युवालाई सो सजाय दिएरै छाडे। तर, उनलाई ६ पटकभन्दा कम हिर्काइएको थियो।