भारतको हाथरसमाभागदौडका क्रममा मर्नेको संख्या १३४ पुग्याे

भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको संख्या १३४ पुगेको छ ।

हाथरस जिल्लाको फुलराई गाउँमा ‘भोलेबाबा’को प्रवचन कार्यक्रम चलिरहेका बेला भागदौड मच्चिँदा मर्नेको संख्या १३४ पुगेको हो । यद्यपि प्रशासनले भने १२१ जनाको नाम सार्वजनिक गरेको छ ।प्रवचन सकिएपछि कार्यक्रममा सहभागीबीच अचानक भागदौड सुरु भएको थियो । भागदौडका क्रममा सयौँ सहभागी भीषण गर्मीले बेहोस भएका थिए ।

बुधबार बिहान ११ बजे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्‍यनाथ घटनास्थल पुगेका छन् । उनले त्यहाँ घाइतेहरूसँग संवाद गरेका छन् ।

यस प्रकरणमा उत्तर प्रदेश पुलिसले बुधबार हाथरसमा भएको भागदौड मामिलामा जाहेरी दर्ता गरेको छ । यो केस सत्संगका आयोजकविरुद्ध जाहेरी दर्ता गरेका छन् ।तर जसको नाममा सत्संग आयोजना गरिएको हो उनीविरुद्ध जाहेरी परेको छैन । नारायण साकार उर्फ भोले बाबाविरुद्ध जाहेरी नपरेको हो ।

जाहेरीमा मुख्य सेवादार देवप्रकाश मधुकर र अन्य आयोजकको नाम किटान गरिएको छ ।

सत्संगका लागि आयोजकले अनुमति माग्दे प्रशासनलाई करिब ८० हजार सहभागी हुने जनाएको थियो । तर यहाँ पुग्ने मानिसको संख्या यसको भन्दा कयौँ धेरै थियो ।