८० वर्षपछि अन्तरिक्षमा तारा विस्फोट हुन सक्ने , टेलिस्कोप बिना हेर्न सकिने

कुनै पनि समयमा अन्तरिक्षमा विस्फोट हुन सक्ने ताराको समय नजिकिँदै छ। केही महिना अगाडि एउटा रिपोर्टमा टी कोरोना बोरियालिस (T Coronae Borealis) नामको ‘ब्लेज स्टार’ ठूलो विस्फोटको अवस्थामा रहेको रिपोर्ट आएको थियो। यो यस्तो विष्फोट हुनेछ, जुन पृथ्वीबाट पनि सहजै देख्न सकिनेछ।

तर, यसका लागि कुनै निश्चित समय भने तोकिएको छैन। यो सेप्टेम्बर २०२४ सम्ममा विस्फोट हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ। किनभने अहिले जून सकिएको र जूलाई महिaना सुरु भइसकेकोले अबको केही महिनामा नै यो विष्फोट हुने सम्भावना छ।

विस्फोट हुने ठाउँ पृथ्वीबाट ३ हजार प्रकाश वर्ष टाढा छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो तारा हरेक ७९-८० वर्षमा विस्फोट हुन्छ। यस विस्फोटले शौखिन खगोलविद्हरूलाई अन्तरिक्षको विशेष दृश्य खिच्ने अवसर दिनेछ।

नासाको मेटियोरोइड इनभाइरोन्मेन्ट अफ‍िस  (एमईओ) का प्रमुख बिल कुकले पनि यस सम्भावित विस्फोटको बारेमा आफ्नो धारणा व्यक्त गरेका छन्। “यसको समयबारे हामीलाई धेरै थाहा छैन् । तर जब यो हुन्छ, यो तपाइँको सम्झना हुनेछ,” उनले भनेका छन्।

अनुसन्धाकर्ताहरुकाअनुसार, विस्फोट हुन लागेको तारा बाइनरी प्रणालीमा बाँधिएको छ। यस्तो प्रणालीमा एक विशाल तारा र एक सेतो बामपुड्के तारा हुने गर्दछ। हालको अवस्थामा, ठूला ताराले आफ्नो सामग्री सेतो बामपुड्के ताराको सतहमा फाल्दैछ किनभने दुबै एक अर्काको धेरै नजिक परिक्रमा गरिरहेका छन्।

बामपुड्के ताराको तापक्रम सामग्री डम्पिङका कारण बढ्दै गएको छ। रिपोर्टका अनुसार जब यो हुन्छ, त्यसमा थर्मोन्यूक्लियर विस्फोट हुन थाल्छ। अन्ततः सेतो बामपुड्के ताराले सबै सामग्रीलाई अन्तरिक्षमा निकाल्नेछ र धेरै उज्यालो हुनेछ, जुन पहिलेको भन्दा सयौं गुणा उज्यालो हुनेछ।

सन् १२१७ मा टी कोरोना बोरेलिसको विष्फोटबारे पृथ्वीमा रहेका मानिसलाई पहिलो पटक थाहा भएको थियो। त्यसयता थप दुईवटा विष्फोट देखिएका छन् । पछिल्लो पटक सन् १९४६ मा विष्फोट भएको थियो। वैज्ञानिकहरू विश्वास गर्छन् कि यो तारा हरेक ७९ वा ८० वर्षमा एक पटक विस्फोट हुन्छ। गत वर्ष मार्चमा तारामा हलचल देखिएको थियो, जसका कारण चाँडै फेरि विस्फोट हुने अनुमान गरिएको थियो।