दक्षिण कोरियामा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु

दक्षिण कोरियाको राजधानी सोलमा मानिसहरूको भीडमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ । यो घटना स्थानीय समयअनुसार सोमबार राति ९ः३० बजेतिरको भएको प्रहरीले बताएको छ । 

योन्ह्याप समाचार एजेन्सीका अनुसार कारका चालक ६८ वर्षका थिए । ट्राफिक स्टपमा उभिएर गाडी पर्खिरहेका मान्छेहरूको भीडलाई गाडीले ठक्कर दिएको थियो । 

यस घटनामा घाइते भएका ४ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ । तर मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिइएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार कार गलत दिशामा चलाइएको थियो । भीडलाई कुल्चनु अघि कारले अन्य दुई सवारी साधनलाई पनि ठक्कर दिएको थियो । घटना सोल सिटी हलको चोकमा भएको जानकारी दिइएको छ ।

चालकलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । कारको गति एक्कासि बढेको प्रहरीसँगको सोधपुछमा चालकले बताएका थिए । दक्षिण कोरियामा सडक दुघर्टनामा सबैभन्दा धेरै ज्यान पैदलयात्रीको जाने गरेको छ । सन् २०२२ मा सडक दुघर्टनामा भएको कूल मृत्युमा पैदलयात्रीको अनुपात ३५ प्रतिशत थियो ।