उत्तर कोरियाद्वारा अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध

उत्तर कोरियाले आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई ‘नेटोको एसियाली संस्करण’ भएको निन्दा गर्दै यसको घातक परिणाम हुने चेतावनी दिएको छ ।  तीन राष्ट्रले ब्यालेस्टिक मिसाइल र हवाई रक्षा, पनडुब्बीविरोधी युद्ध र रक्षात्मक साइबर प्रशिक्षणमा ‘फ्रिडम एज’ भनिने तीन दिने सैन्य अभ्यास सम्पन्न गरेको एक दिन पछि उत्तर कोरियाको यस्तो अभिव्यक्ति आएको हो । 

उत्तर कोरियाको आणविक खतरा र चीनको बढ्दो क्षेत्रीय प्रभावको सामना गर्ने एकताको सङ्केतका रूपमा वार्षिक अभ्यास गर्न गत वर्ष अमेरिकी, दक्षिण कोरियाली र जापानी नेता त्रिपक्षीय शिखर सम्मेलनमा सहमत भएका थिए । 

“हामी उत्तर कोरियाविरुद्धको सैन्य अभ्यासको कडा निन्दा गर्दछौं,” प्योङयाङको विदेश मन्त्रालयले आइतबार जनाएको छ । “अमेरिका–जापान–दक्षिण कोरिया सम्बन्धले नेटोको एसियाली संस्करणको रूप लिएको छ । यसको परिणाम घातक हुनेछ,” प्योङयाङले भनेको छ । 

उत्तर कोरियाले सैन्य समूहलाई बलियो बनाउन अमेरिका र यसका सहयोगीहरूको चाललाई कहिल्यै बेवास्ता नगर्ने बताएको छ । पछिल्लो संयुक्त अभ्यासमा वासिङ्टनको परमाणु–सञ्चालित विमान वाहक ‘युएसएस थियोडोर रुजवेल्ट’, टोकियोको निर्देशित मिसाइल विध्वंसक ‘जेएस ओटागो र सियोलको ‘केएफ–१६’ लडाकू जेट समावेश थिए ।