युएनएचसीआरद्वारा लिबियामा चार हजारभन्दा बढी सुडानी शरणार्थीलाई सहयोग प्रदान

काठमाडाैँ, १५ असारः शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसीआर)ले यो वर्ष अहिलेसम्म लिबियामा रहेका चार हजार ८०० भन्दा बढी सुडानी शरणार्थीलाई महत्वपूर्ण सहयोग उपलब्ध गराएको छ ।

“यो वर्ष अहिलेसम्म चार हजार ८०० भन्दा बढी सुडानी शरणार्थीहरूलाई चिकित्सा सहायता, स्वच्छता किटहरू, भान्छाका सामान, सौर्य बत्तीमा पहुँच र नगद सहायता जस्ता महत्वपूर्ण समर्थनहरू प्रदान गरिएको छ,” युएनएचसीआरले एक विज्ञप्तिमा उल्लेख गरेको छ । धेरै शरणार्थीहरू आइरहँदा युएनएचसीआर र यसका साझेदारले खाँचोमा परेकालाई सहयोग गर्न प्रयासहरू बढाइरहेका छन् ।

यससँगै, अब लिबियामा युएनएचसीआरमा दर्ता भएका सुडानी शरणार्थीको सङ्ख्या चार हजार ८०० भन्दा बढी पुगेको छ ।
अप्रिल सन् २०२३ को मध्यमा आफ्नो देशमा गृहयुद्ध सुरु भएदेखि ठूलो सङ्ख्यामा विस्थापित सुडानी नागरिकले लिबियामा सुरक्षा र सहायता खोजिरहेका छन् ।