वडा कार्यालय भवन निर्माण

काठमाडौँ, १५ असार : म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण भएको छ । 

मालिका गाउँपालिकाले रु. ७६ लाखको लागतमा ७ कोठे एक तले भवन निर्माण गरेको हो । अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माणका लागि गत मंसिर १८ गते भगवति मालिका कन्ट्रक्सनसँग रु. ७६ लाख ७ लाख ५८८ मा ठेक्का सम्झौता भएको थियो । 

निर्माण कम्पनीका प्रतिनिधी बिजय भट्टचनले असार मसान्त सम्म म्याद भएपनि लक्ष्य अघिनै भवन निर्माण सकिएको जानकारी दिनुभयो । १ वटा सभाहल, वडा अध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा ४ वटा शौचालय र शयनकक्ष छन् । 

वडा अध्यक्ष मिम पुनले हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा शुरु गर्ने बताउनुभयो । यसअघि भिम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो र जिर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुदै आएको थियो । 

७ वटा वडा रहेको मालिका गाउँपालिकाको यसअघि वडा नं. ३ को किटिनिमा भवन निर्माण भएको थियो । वडा नं. ६ को कार्यालय तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ । 

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, वडा नं. १ र ७ को भवन बनाउन रु. २ करोड बजेट बिनियोजन भएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । वडा नं. २ रुम र वडा नं. ४ ओखरबोटको कार्यालय पनि पुरानो भवनबाट सञ्चालन हुदै आएको छ ।