रुससँगको युद्ध अन्त्य गर्ने ‘योजना’ तयार गरिरहेको छु : जेलेन्स्की

 युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध कसरी अन्त्य हुनुपर्छ भन्ने किएभले विश्वास गर्छ भनेर ‘व्यापक योजना’ बनाउँदै गरेको बताएका छन् । युक्रेन र रुसबीच कुनै सार्वजनिक वार्ता भइरहेको छैन तथा जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक भनाइका आधारमा सम्भावित शान्ति सम्झौताका सर्तहरूको कुरा आउँदा दुवै पक्ष सधैँ टाढा रहन्छन् । 

जेलेन्स्कीले युक्रेनको स्थितिका लागि समर्थन जुटाउनका लागि यसै महिनाको सुरुमा स्विट्जरल्यान्डमा प्रमुख अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गरे । सम्मेलनमा रुसलाई आमन्त्रण गरिएको थिएन । “हाम्रा लागि युद्धलाई अन्त्य गर्ने योजना देखाउनु अत्यन्त महत्त्वपूर्ण छ, यो विश्वको बहुमतले समर्थन गर्नेछ”, स्लोभेनियाली राष्ट्रपति नतासा पिर्कर मुसरसँग किएभमा पत्रकार सम्मेलनमा शुक्रबार उनले भने, “हामीले काम गरिरहेको कूटनीतिक मार्ग यही हो ।”

स्विट्जरल्यान्डमा जेलेन्स्कीसँग दुई दिवसीय शिखर सम्मेलनमा ९० भन्दा धेरै देशले नेता तथा वरिष्ठ अधिकारीहरू पठाएका थिए । यीमध्ये अधिकांशले कुनै पनि सम्झौतामा युक्रेनको ‘क्षेत्रीय अखण्डता’ को सम्मान गर्ने आवश्यकतामा जोड दिइएको अन्तिम विज्ञप्तिमा सहमति व्यक्त गरेका थिए । तर सम्मेलनमा भाग लिने भारतजस्ता मुलुकहरू उक्त विज्ञप्तिमा सहमत भएका थिएनन र रुसको सहयोगी चीन जस्ता अन्यले मस्कोलाई आमन्त्रण नगरेको विरोधमा शिखर सम्मेलन बहिष्कार गरेका थिए । 

युक्रेनले बारम्बार शान्ति वार्ता सुरु हुनुअघि रुसका सैनिकहरू अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त क्षेत्रबाट बाहिरिनुपर्ने बताएको छ । यसमा सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीप पनि सामेल छ । बिहीबार ब्रसेल्समा जेलेन्स्कीले केही महिनाभित्रै एउटा ‘विस्तृत योजना’ ल्याउने बताए । सैनिक र नागरिकहरूको उच्च मृत्यु दरतर्फ इशारा गर्दै उनले भने, “हामीसँग धेरै समय छैन ।”    

शुक्रबार एउटा अर्को सानो सीमावर्ती गाउँ कब्जा गरेको दाबी गर्दै रुसको सेना विस्तारै युद्धको मैदानमा अगाडि बढिरहेको छ ।  हालको अवस्थामा रुसले युक्रेनको करिब २० प्रतिशत भाग कब्जा गरेको छ । सन् २०२२ मा उनीहरूले थप चार क्षेत्रमा कब्जा गरेको दाबी गरेका छन् । यी क्षेत्रमध्ये कुनैमा पनि उनीहरूको पूर्ण नियन्त्रण छैन । 

युक्रेन आक्रमणकारी रुसी सेनाहरूलाई पछाडि धकेल्नका लागि पश्चिमी वित्तीय र सैन्य सहायतामा निर्भर छ तर दुई वर्षभन्दा लामो लडाइँपछि उसका सैनिक कमजोर र थकित छन् ।