केन्यामा संसद् भवनमा आक्रमण गर्न खोजेका पाँच प्रदर्शनकारीको प्रहरीको गोलीबाट मृत्यु

केन्यामा सरकारविरुद्ध प्रदर्शन भएको छ । आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेय ल्याउँदा संसद् भवनमा आक्रमण गर्न खोजेका थिए । 

सो क्रममा प्रहरीको गोली लागि पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । यस्तै, ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।


मंगलबार हजारौं प्रदर्शनकारीले कर वृद्धिसम्बन्धी विधेयक पारित गरिरहँदा बलपूर्वक संसद् भवनभित्र प्रवेश गर्न खोजेका थिए । प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि पछाडि नहटेपछि प्रहरीले गोली प्रहार गरेको रोयटर्सले जनाएको छ । 

 

वित्त विधेयकविरुद्ध संसद् भवन बाहिर प्रदर्शन गर्ने क्रममा संसद् भवनको केही भागमा प्रदर्शनकारीले आगोसमेत लगाइदिएका थिए । संसद् भवनमा आक्रमण भएपछि प्रहरीले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ ।  

यस्तै, सांसदलाई जमिनमुनिको सुरुङ मार्ग प्रयोग गरी सुरक्षित बाहिर निकालिएको थियो । देशले चरम आर्थिक संकटको सामना गरिरहेका बेला कर वृद्धिसम्बन्धी कानुन ल्याएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन् ।