टिकटकमाथिको प्रतिबन्धले व्यवसाय क्षति पुग्ने : ओर्‍याकल

अमेरिकाले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाए आफ्नो व्यवसायमा क्षति पुग्ने सफ्टवेयर निर्माता कम्पनी ओर्‍याकलले चेतावनी दिएका छ । सोमबार सार्वजनिक भएको आफ्नो वार्षिक प्रतिवेदनमा कम्पनीले यस्तो बताएको हो । 

अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विधेयकमा हस्ताक्षर गर्दै अमेरिकामा प्रतिबन्धबाट जोगिन टिकटकको मातृ कम्पनी बाइट डान्सलाई नौ महिनाभित्र कम्पनी बेच्न भनेका थिए ।कम्पनीले आफ्ना प्रयोगकर्ताहरूको डेटा चीन पठाउने र यसले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउने भन्दै अमेरिकामा कम्पनीको स्वामित्व संरचना लामो समयदेखि बाइटडान्स र अमेरिका सरकारबिच तनावको विषय बन्दै आएको थियो । ओर्‍याकलले टिकटकलाई क्लाउड पूर्वाधार उपलब्ध गराउँदै आएको छ । अमेरिकामा टिकटकका १५ करोड भन्दा बढी प्रयोगकर्ता छन् ।

आफूले टिकटकलाई यी सेवाहरू उपलब्ध गराउन नपाए कम्पनीको आम्दानी र मुनाफामा प्रतिकूल असर पर्ने ओर्‍याकलले मे ३१ मा सकिएको आर्थिक वर्षका लागि जारी गरेको वार्षिक प्रतिवेदनमा भनेको छ । टिकटक र कम्पनीमा चिनियाँ स्वामित्व अहिलेको विवाद होइन । सन् २०२० मा डोनल्ड ट्रम्प राष्ट्रपति हुँदा नै उनले बाइटडान्सलाई टिकटकको अमेरिकी व्यवसाय बेच्न वा डाइभेष्ट गर्न दबाब दिएका थिए ।