रुसको उत्तरी काकेसस गणतन्त्र दागेस्तानमा घातक हमला, एक दर्जनभन्दा बढीको मृत्यु

काठमाडाै। रुसको उत्तरी काकेसस गणतन्त्र दागेस्तानमा प्रहरी अधिकारी, गिर्जाघर र सभाघरहरूमा भएको आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ। बन्दुकधारीहरूले पेन्टेकोस्टको अर्थोडक्स उत्सवमा डर्बेन्ट र मखाचकला सहरहरूलाई निशाना बनाएका थिए।

मृत्यु हुनेमा कम्तीमा सात प्रहरी अधिकारी, एक पादरी र एक सुरक्षा गार्ड रहेका छन् । आक्रमणकारीमध्ये ६ जनाको मृत्यु भएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । आक्रमणकारीको पहिचान भइसकेको छैन, तर दागेस्तान विगतमा इस्लामवादी आक्रमणको स्थल रहँदै आएको छ ।

आइतबारको आक्रमणमा दुईवटा गिर्जाघर र दुई सभाघरलाई निशाना बनाइएको थियो। दागेस्तानको सबैभन्दा ठुलो सहर मखाचकलामा अर्थोडक्स चर्चका पादरीको हत्या भएको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा कालो लुगा लगाएका मानिसहरूले प्रहरीको कारमा गोली हानेको देखाउँछ । डर्बेन्टमा बन्दुकधारीहरूले एउटा सभाघर र एउटा चर्चमा आक्रमण गरेका थिए, जसलाई आगो लगाइयो।

रुसको सबैभन्दा गरिब भागहरू मध्ये एक दागेस्तान एक मुख्य मुस्लिम गणतन्त्र हो।