नतिजामुखी काम गर्न निगमका कर्मचारीलाई निर्देशन

काठमाडौँ, ९ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले नेपाल वायुसेवा निगमको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । सचिव पाण्डेयले आज निगम केन्द्रीय कार्यालय निरीक्षणका क्रममा इमान्दारपूर्वक नतिजामुखी काममा लाग्न आग्रह गर्नुभएको हो । 

सबैले इमान्दारिताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने विश्वास व्यक्त गर्दै सचिव पाण्डेयले मन्त्रालयबाट गर्नुपर्ने कार्यमा आफूबाट सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले निगमका हरेक विभागले गर्नुपर्ने नियमित कार्यमा ढिलासुस्ती नगर्न र  जनतालाई नतिजा महसुस हुनेगरी काम गर्न निर्देशन दिनुभयो ।

त्यसक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराउनुभयो । उहाँले निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरण मर्मतसम्भारमा लाग्ने पाटपुर्जा र निगमको विमानमा प्रयोग हुने खाद्य सामग्रीमा भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाई इन्धनमा लगाइएको कर छुट गर्नेतर्फ पहल गरिदिन आग्रह गर्नुभयो ।

त्यसअवसरमा निगम, बजार व्यवस्थापन विभागका निर्देशक टङ्कनिधि दाहाल, मानव संशाधन विभागका निर्देशक अशोक सिग्देल, संस्थागत विभागका निर्देशक अनिल घिमिरे र क्वालिटि एस्योरेन्स विभागका निर्देशक पोषक ज्ञवालीले विभागीय प्रस्तुतीकरण गर्नुभएकोे निगमका प्रवक्ता रमेश पौडेललले जानकारी दिनुभयो ।