टी–२० विश्वकप : अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि अफगानि समर्थकहरूकाे खुसीयाली मनाउन सडकमा ओर्लिएको जनसागर

 आईसीसी टी–२० विश्वकप क्रिकेटको आइतबार बिहान खेलिएको ‘सुपर–८’ चरणको रोमाञ्चक खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो । यो जित अफगानिस्तानका लागि धेरै अर्थमा महत्त्वपूर्ण छ ।

त्यसैले विश्वकपजस्तो ठुलो मञ्चमा आफ्नो राष्ट्रिय टोलीले अस्ट्रेलियालाई हराएपछि अफगानिस्तानमा राष्ट्रिय पर्वको झल्को दिने खुसीको वातावरण बनेको छ । आफ्नो टोलीले अस्ट्रेलियालाई हराउनासाथ ठुलो सङ्ख्यामा अफगानिस्तानका नागरिक खुसीयाली मनाउन सडकमा ओर्लिएका छन् ।

अफगानिस्तानमा जताततै खुसीको वातावरण देखिएको छ । समर्थकहरू आपसमा खुसी साटासाट गरिरहेका छन् । विश्व क्रिकेटमा अस्ट्रेलिया निकै बलियो टोली हो । अस्ट्रेलियाले हालसम्म ६ पटक एक दिवसीय विश्वकपको उपाधि चुमिसकेको छ ।अस्ट्रेलिया एक दिवसीय विश्वकपको साबिक विजेता पनि हो । अस्ट्रेलियाले अघिल्लो वर्ष सम्पन्न एक दिवसीय विश्वकपको फाइनलमा भारतलाई उसैको मैदानमा हराएको थियो । यसका अतिरिक्त अस्ट्रेलिया टी–२० विश्वकपको पूर्वविजेता पनि हो ।

त्यसैले अस्ट्रेलियालाई हराउनु अफगानिस्तानका लागि निकै ठुलो उपलब्धि हो । अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई हराएको हो । यसअघि यी दुई टोलीबिच चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय र दुई वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । ती सबै खेलमा अफगानिस्तान पराजित भएको थियो ।यसदेखि बाहेक अस्ट्रेलियालाई हराउँदा अफगानिस्तान खुसी हुनुको अर्को एउटा कारण पनि छ । खासमा, अस्ट्रेलियाले लामो समयदेखि अफगानिस्तानसँग क्रिकेट खेल्न अस्वीकार गर्दै आएको थियो । अफगानिस्तानले पटक–पटक अस्ट्रेलियालाई क्रिकेट खेल्न निम्तो दिएको छ ।

तर, अफगानिस्तानमा मानवअधिकारको व्यापक हनन भइरहेको प्रसङ्ग उठाउँदै अस्ट्रेलियाले अफगान टोलीसँग क्रिकेट नखेल्ने अडान राख्दै आएको थियो । केही समयअघि यस्तै कारण देखाएर अस्ट्रेलियाले अफगानिस्तानविरुद्धको टी–२० शृङ्खला पनि नखेल्ने निर्णय लिएको थियो ।

त्यतिबेला अस्ट्रेलिया र अफगानिस्तानबिच तीन वटा खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलिने कार्यक्रम थियो । अफगानिस्तानमा खासगरी महिला अधिकारको व्यापक उल्लङ्घन भइरहेको जनाउँदै क्रिकेट अस्ट्रेलियाले शृङ्खला नखेल्ने निर्णय लिएको थियो । त्यो शृङ्खला पनि अफगानिस्तानमा नभई ‘न्यूट्रल भेन्यू’ मा खेल्ने तयारी गरिएको थियो । यसमा पनि अस्ट्रेलिया सहमत भएन ।त्यसअघि पनि मानवअधिकार उल्लङ्घनको विषय उठाउँदै अस्ट्रेलियाले अफगानिस्तानमा क्रिकेट खेल्न अस्वीकार गरेको थियो । अस्ट्रेलिया र अफगानिस्तानबिच सन् २०२१ मा टेस्ट र सन् २०२३ को मार्चमा एक दिवसीय शृङ्खला खेल्ने प्रस्ताव गरिएको थियो । तर, अस्ट्रेलिया ती दुवै प्रतियोगिता खेल्न अस्वीकार गरेको थियो ।

क्रिकेट अस्ट्रेलियाले विज्ञप्ति जारी गर्दै शृङ्खला रद्द गरिएको जनाएको थियो । क्रिकेट अस्ट्रेलियाले अस्ट्रेलिया सरकारको चाहना पनि यस्तै रहेको दाबी गरेको थियो । ‘हामीले आफ्नो सरकारसँग निरन्तर अफगानिस्तानको अवस्थाको बारेमा जानकारी लिइरहेका थियौँ । सरकारबाट पनि हामीले अफगानिस्तानमा महिला अधिकारको व्यापक हनन भइरहेकाले शृङ्खला नखेल्दा नै उपयुक्त हुने सुझाव पायौँ,’ त्यतिबेला क्रिकेट अस्ट्रेलियाले भनेको थियो ।

यो विषयलाई लिएर अफगानिस्तानमा अस्ट्रेलियाप्रति सहज वातावरण थिएन । अफगानिस्तानका क्रिकेटरले पनि बेलाबखत यो प्रसङ्ग उठाउने गरेका थिए । त्यसैले पनि अहिले विश्वकपमा आफ्नो टोलीले अस्ट्रेलियालाई हराउँदै अफगानिस्तानका नागरिक बढी खुसी देखिएका हुन् ।

आइतबार आफ्नो टोलीले अस्ट्रेलियालाई हराएपछि अफगानिस्तान क्रिकेट बोर्डले पनि आफ्ना समर्थकले देशभर खुसीयाली मनाइरहेको तस्बिरहरू सार्वजनिक गरेको छ । खुसीयाली मनाउनमा सडकमा निस्किएका समर्थकले आतिशबाजी पनि गरेका छन् । सामाजिक सञ्जालमा पनि खुसीयाली मनाइरहेको तस्बिरहरू पोस्ट भइरहेका छन् ।