गाजामा मानवीय सङ्कट आउन सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओकाे चेतावनी

अत्यधिक गर्मीले प्यालेस्टाइनको गाजामा ठूलो मानवीय सङ्कट आउन सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चेतावनी दिएको छ । हमास र इजरायलको युद्धका कारण विस्थापित भएका लाखौँ मानिसलाई चर्को गर्मीले नराम्ररी सताउन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गाजाका हजारौँ विस्थापित गर्मीसँगै हिट स्ट्रोक र विभिन्न रोगका कारण गम्भीर समस्या नजिकै रहेको डब्ल्यूएचओका गाजा र वेस्ट बैंकका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताएका छन् ।

गर्मीसँगै पानी झनै दुषित हुने र उच्च तापक्रमको कारण मौज्दातमा रहेको खाना चाँडै बिग्रने उनको भनाइ छ ।

यस्तै लामखुट्टे, सर्प र झिँगा जस्ता जीवका कारण पनि विस्थापितको शिविरमा विभिन्न प्रकोप फैलन सक्ने डब्ल्यूएचओको चेतावनी छ । गाजाका विभिन्न ठाउँमा झन्डै १२ लाख जना जना शरणार्थी रहेका छन् । अहिले संसारका विभिन्न ठाउँमा गर्मीको कारण सयौँ जनाको ज्यान गइरहेको बेला गाजामा पनि गर्मीले जनजीवन कष्टकर बनाउन सक्ने डब्ल्यूएचओको चेतावनी छ ।