इरानी र्यापर सालेहीको मृत्युदण्डको सजायमाथि पुनरावलोकन गर्न निर्देशन

इरानको सर्वोच्च अदालतले महसा अमिनीको मृत्युपछि देशव्यापी प्रदर्शनलाई समर्थन गरेको आरोपमा जेल परेका चर्चित र्यापर तूमाज सालेहीको मृत्युदण्डको सजाय उल्ट्याएको छ ।

“सालेहीको मृत्युदण्डको सजाय उल्टाइएको छ,” सालेहीका वकिल अमिर रायसियनले एक्समा लेख्नुभएको छ । सर्वोच्च अदालतले पुनः सुनुवाइको आदेश दिएको उहाँले बताउनुभयो । “सर्वोच्च अदालतले अपूरणीय न्यायिक त्रुटिलाई रोकेको छ,” रायसियनले भन्नुभयो । 

अदालतले सालेहीको अघिल्लो सजाय (६ वर्ष र तीन महिना) पनि अपराधको बहुलताको नियमको पालना बिना नै भएको फैसला सुनाएको थियो ।गत अप्रिलमा इरानी अदालतले सालेहीलाई ‘राष्ट्रिय सामाजिक र राजनीतिक सुव्यवस्थालाई खलल पार्ने आचरण’ गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो । 

उहाँलाई राजद्रोह, भेला र मिलेमतोमा सहयोग गरेको, राज्यविरुद्ध सङ्गठित प्रचार गरेको र दङ्गा निम्त्याएको आरोप पनि लगाइएको वकिल रायसियनले बताउनुभएको छ । प्रहरी हिरासतमा सन् २०२२ अक्टोबरमा अमिनीको मृत्युपछि सुरु भएको प्रदर्शनको सार्वजनिक समर्थन गरेपछि ३३ वर्षीय सालेहीलाई पक्राउ गरिएको थियो ।

इरानी अधिकारकर्मी अमिनीलाई महिलाका लागि तोकिएको पोशाक नियम उल्लङ्घन गरेको आरोपमा तेहरानबाट प्रहरीले पक्राउ गरेको थियो ।