भारतमा रेडमी १२ फाइभजी स्मार्टफोन प्रयोगकर्ताहरू ४० लाख नाघे

सन् २०२३ को अगस्टमा भारतीय बजारमा डेब्यू गरेको रेडमी १२ फाइभजी, ब्रान्डको सबैभन्दा धेरै बिक्री हुने डिभाइसहरू मध्ये एक भएको छ। लन्च भएको एक हप्ता पछि, डिभाइसले ३ लाख एकाइहरू भन्दा बढी बिक्री गरेको थियो। यसले अब, भारतमा मात्रै ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू पार गरिसकेको जनाइएको छ।

ब्रान्डले फेसबुकमार्फत यस बारेमा घोषणा गर्दै, आफ्ना प्रयोगकर्ताहरूलाई उनीहरूको समर्थनको लागि धन्यवाद ज्ञापन गरेको छ। यसको क्लिन (सफा) र प्रिमियम लुकको विशेषताका साथै बजारमा सबैभन्दा किफायती फाइभजी स्मार्टफोनहरू मध्ये एक भएको हुनाले यो अत्याधिक लोकप्रिय बन्न सफल भएको दाबी छ।

रेडमी १२ फाइभजीको स्पेसिफिकेसनः
रेडमी १२ फाइभजीमा ६.७९ इन्च एफएचडी प्लस डिस्प्लेको रहेको छ। ५५० निट्सको पिक ब्राईटनेस रहेको उक्त डिस्प्लेले ९० हर्ज रिफ्रेस रेटलाई समर्थन गर्छ। साथै यो क्वालकम स्न्यापड्र्यागन ४ जेन २ एसओसी मा संचालन हुन्छ। यसमा समावेश गरिएको ५,०००एमएएच ब्याट्रीले १८ वाट फास्ट चार्जिङलाई सपोर्ट (समर्थन) गर्छ।

फोनको पछाडि ५० मेगापिक्सेलको डुअल क्यामरा रहेको छ भने अगाडि ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ।

एमआईयूआई १४ को साथ एन्ड्रोइड १३ मा रन हुने यो डिभाइसले ब्लुटुथ, वाईफाई, जीपीएस, यूएसबी टाइप–सी पोर्ट, आईआर ब्लास्टर, साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर र स्प्ल्याश प्रतिरोधको लागि आईपी ५३ रेटिङ्ग जस्ता अतिरिक्त सुविधाहरू प्रदान गर्दछ।

भारतीय बजारमा रेडमी १२ फाइभजी स्मार्टफोनहरू ४ जीबी प्लस १२८ जीबी, ८ जीबी प्लस १२८ जीबी, र ८ जीबी प्लस २५६ जीबी गरी जम्मा तीन ओटा र्याम र स्टोरेज (भण्डारण) कन्फिगरेसनहरूमा उपलब्ध छन्। अमेजन इन्डियामा उपलब्ध डिस्काउन्ट (छुट) कुपन लागू गरेपछि क्रमशः ९,९९९ भारु, ११,४९९ भारु, र १२,९९९ भारु मा उपलब्ध रहेको रिपोर्टमा उल्लेख छ।