गणतन्त्र प्राप्ति पछि विकासले फड्को मारेको छः पूर्वमन्त्री कार्की

काठमाडौँ, ५ असार : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गणतन्त्र प्राप्ति पछि विकासले फड्को मारेको बताउनुभएको छ ।
    
गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपश्चात् उहाँले मुलुक विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढेको बताउनुभयो ।
    
“मुलुकको आर्थिक विकास कतातर्फ गइरहेको छ भनेर सूक्ष्म ढङ्गले प्रदर्शनीलाई हेरेर विश्लेषण गर्न सक्छौँ”, पूर्वमन्त्री कार्कीले भन्नुभयो, “तर, अहिले समाजमा जुन किसिमको नकारात्मक सोच र प्रचार गर्ने प्रवृत्ति बढेको छ, त्यसले हाम्रो विचमा दुबिधा सिर्जना गरेको छ । यसलाई राम्रोसँग प्रचार गर्न सक्नुपर्दछ ।”
    
उहाँले देश विकासको गतिमा फड्को मारिरहे पनि गतिलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो दशकमा कूल गार्हस्थ उत्पादन (जिडिपी) र ‘परक्यापीटल इन्कम’ पनि वृद्धि भएको जानकारी दिनुभयो । “विकासको गति सुस्त होला तर, गति अवरुद्ध छैन”, उहाँले भन्नुभयो, “अहिले गाउँमा विकास भइरहेको छ, अर्बौँ रुपियाँ खर्च पनि भइरहेको छ ।”
    
नेता कार्कीले गाउँमा विकासका पूर्वाधार पर्याप्त भए पनि गाउँ खाली हुँदै गइरहेकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले  मुलुकको सम्भावनालाई जनताले अनुभूत गर्ने किसिमले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।
    
यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर समेटिएका छन् ।