प्रवक्तालाई नै सूचनाप्राप्तिमा चुनौती

काठमाडौँ, ५ असार  : सरकारका मन्त्रालय र संवैधानिक निकायका निर्णय पारदर्शी हुँदैनन् र सूचना लुकाइन्छ भन्ने लागिरहेका बेला सङ्घीय मन्त्रालयकै अधिकांश प्रवक्ताले समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको सङ्घीय मन्त्रालय र संवैधानिक आयोगका प्रवक्ताहरुको बैठकमा अधिकांशले आन्तरिक रुप मै सूचना प्राप्त गर्न कठिनाइ भइरहेको गुनासो दिनुभयो ।

प्रवक्ताले नै गुनासो पोखेपछि बैठकले आमसञ्चार माध्यममार्फत जनतामा पु¥याउनपर्ने सूचना वा निर्णयको बोधार्थ लिखित वा मौखिकरुपमा प्रवक्तालाई यथाशीघ्र उपलब्ध गराउनुपर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले राससलाई जानकारी दिनुभयो ।
     
आफ्नै मन्त्रालय र कार्यालयका कतिपय निर्णय आमसञ्चार माध्यममा छापिएपछि थाहा पाउने गरेका घटना बैठकमा प्रवक्ताले सुनाउनुभयो । मन्त्रालय होस् वा अन्य केन्द्रीय निकायबाट हुने निर्णय र सूचनाबारे प्रवक्तालाई समयमा जानकारी नहुँदा सञ्चारमाध्यमलाई सम्प्रेषण गर्न असजिलो भएको बैठकको निष्कर्ष छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ठाकुरले भन्नुभयो, “प्रवक्ताले भोग्नुपरेका मुख्य समस्या आफ्नै संस्थाबाट समयमा सूचना नपाउँदा सञ्चारमाध्यमलाई भएका जानकारी गराउन चुनौती छ ।”

विभिन्न मन्त्रालय र निकायका करिब ३५ जना प्रवक्ता सहभागी बैठकले प्रवक्ताको भूमिका, भोग्नुपरेका समस्या, सम्भावना र चुनौतीबारे समीक्षा गर्दै आन्तरिक चुनौतीका रुपमा रहेको सूचना प्राप्तिलाई सहज तुल्याइनुपर्नेमा जोड दिएको छ ।
 
आफूले थाहै नपाएको विषयवस्तु अरुलाई कसरी बुझाउन सकिन्छ भन्ने प्रश्न गर्दै केही प्रवक्ताले गोप्य राख्ने र पारदर्शिता कायम गर्ने भन्ने विषयमा एकरुपता कायम गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
 
प्रवक्तासम्बन्धी नीतिगतरुपमा कार्यविधि नबनेकाले कार्यक्षेत्र, कार्य जिम्मेवारी मात्र नभई सूचना अधिकारी र प्रवक्ताको भूमिका नै स्पष्ट नभएको बैठकमा गुनासो गरियो । बैठकले एकअर्काे मन्त्रालय र संवैधानिक आयोगबीच सम्पर्क, सहयोग र समन्वय गर्न सामाजिक सञ्जाल वा कुनै एप निर्माण गरी स्थायी प्रकृतिको सञ्जाल बनाउने निर्णय पनि गरेको छ ।

केही प्रवक्ताले कार्यालय समयपछि आफ्नो निजी जीवनमा रहँदासमेत पत्रकारको सामना गर्नुपरेको घटना सुनाउँदै सूचना उपलब्ध गराउने समय तोकिनुपर्ने भनाइ राख्नुभएको थियो ।