भविष्य न्युरालिङ्कको हो, स्मार्टफोनको काम छैन : एलन मस्क

अर्बपति उद्यमी एलन मस्कले स्मार्टफोनलाई न्युरालिङ्कले विस्थापित गर्ने अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्ताको पोस्टमा रिप्लाई दिँदै मस्कले भविष्यमा स्मार्टफोन नहुने बताएका हुन् । 

“भविष्यमा स्मार्टफोन हुने छैनन् । केबल न्युरालिङ्क मात्र हुनेछ,” उनले रिप्लाईमा लेखेका छन् । 

मस्क मानव मस्तिष्कका लागि ब्रेन चिप प्रविधि विकास गर्ने कम्पनी न्युरालिङ्कका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । भविष्यमा ब्रेन चिपको महत्त्वबारे चर्चा गर्दै उनले यस्तो धारणा राखेकाे अनुमान गरिएकाे छ ।

अहिले २९ वर्षीय नोल्यान्ड अर्बाउकाे दिमागमा याे चिपकाे पहिलाे चरणकाे परीक्षण भइरहेको छ । 

मस्कको प्यारोडी अकाउन्टबाट एआईद्वारा निर्मित उनको फोटो एक्समा राखिएको थियो । “सोचेकै भरमा एक्स फोन कन्ट्रोल गर्ने सुविधा भए के तपाईं आफ्नो मस्तिष्कमा न्युरालिङ्क जोड्नुहुन्छ ?,” भन्ने प्रश्नको जवाफमा मस्कले भविष्यमा स्मार्टफोन नहुने संकेत गरेका हुन् । 

न्युरालिङ्कको चिप परीक्षणका लागि छनोट भएका अर्बाउ पक्षघातद्वारा ग्रसित छन् । आठ वर्षअघि उनी गम्भीर दुर्घटनामा परेका थिए । २८ जनवरीमा सार्वजनिक भिडिओमा अर्बाउ कसरी निको भइरहेका छन् भन्ने देखाइएको थियो ।

त्यस्तै गत मार्चमा सार्वजनिक भिडिओमा अर्बाउले कम्प्युटरमा चेस खेलेको देखाइएको थियो । “न्युरालिङ्कको भाग हुन पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,” उक्त भिडिओमा अर्बाउले भनेका छन्, “म हरेक दिन नयाँ नयाँ कुराहरू सिकिरहेको छु । म यी सबै कार्म गरिरहँदा कस्तो महसुस गरिरहेको छु भनेर शब्दमा व्याख्या गर्न सक्दिनँ ।”

हालै मात्र न्युरालिङ्कले परीक्षणका लागि दोस्रो व्यक्तिको आवेदन खुलाएको छ । सोचेकै भरमा फोन र कम्प्युटर चलाउन सकिने भन्दै न्युरालिङ्क प्रत्यारोपण गर्न चाहने व्यक्तिले आवेदन दिन सक्नेछन् । 

न्युरालिङ्कले विश्वव्यापी रूपमा चर्चा पाएसँगै विभिन्न किसिमका बाधा पनि सामना गरिरहेको छ । न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार न्युरालिङ्ककी पूर्वकर्मचारी लिन्ड्से शर्टले कम्पनी विरुद्ध उजुरी दिएकी थिइन् । कम्पनीले सुरक्षित साधनबिनै सङ्क्रमित बाँदरमा  चिपको काम गर्न लगाएको र बाँदरले कोतर्दा शरीरमा भाइरस सङ्क्रमणको जोखिम भएको उनले आरोप लगाएकी छन् । ती भाइरसले मानव मष्तिष्कमा गम्भीर क्षति पुग्ने वा मृत्युसमेत हुनसक्ने उनको भनाइ छ ।

त्यसबाहेक न्युरालिङ्कको प्रयोगबारे विभिन्न क्षेत्रमा बहस भइरहेको छ ।