छेम्दी गाउँ सडक सञ्जालमा जोडियो

काठमाडौँ, ५ असार  : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी गाउँ सडक सञ्जालमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिकाले नारच्याङको बेँसी गाउँबाट छेम्दी जोड्ने सडक निर्माण गरेपछि सडक सञ्जाल विस्तार भएको हो ।

अन्नपूर्ण–४ नारच्याङका कार्यवाहक वडाध्यक्ष भीमबहादुर शेरपुञ्जाले बेँसी गाउँबाट छेम्दी जोड्ने तीन किलोमिटर सडक निर्माण भएपछि करिब ५० घरधुरी लाभान्वित भएका बताउनुभयो । 

“प्रशस्त मात्रामा सुन्तला, सिमी र आलुखेती हुने छेम्दी गाउँमा सडक पुगेपछि स्थानीयलाई आवतजावतका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ”, उहाँले भन्नुभयो, “गाउँमा यातायात सुविधा पुगेसँगै स्थानीयको दैनिकी र जीवनशैलीमा परिवर्तन आएको छ ।”

सडक निर्माणसँगै किसानले फलफूल, तरकारीलगायत कृषि उत्पादन बिक्रीका लागि बोकेर नारच्याङ बेँसी गाउँसम्म लैजानुपर्ने बाध्यता हटेको छ । सो सडक निर्माण गर्न गत माघ २८ गते रुप्से बिल्डर्स प्रालीसँग रु ५३ लाख ३४ हजार तीन सय ४१ मा ठेक्का सम्झौता भएको थियो । 

गत जेठ ३२ गतेसम्म ठेक्काको म्याद भए पनि निर्माण कम्पनीले निर्धारित मिति पहिला नै काम सम्पन्न गरेको गाउँपालिकाका सबइञ्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । 

सबै बस्तीमा सडक पु¥याउने लक्ष्यअनुसार छेम्दीमा सञ्जाल विस्तार गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । सो सडकको ग्रेड तथा घुम्ती सुधार, नाली र पर्खाल निर्माण गरी थप स्तरोन्नतिमा प्राथमिकता दिइने उहाँको भनाइ छ ।

आठवटा वडा रहेको अन्नपूर्ण गाउँपालिकाको सबैजसो बस्तीमा सडक पुगेको छ । सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिँदै आएको अध्यक्ष पुनले बताउनुभयो । 
–––