भारतका उत्तरी राज्यहरूमा तातो लहर जारी , उत्तर प्रदेशमा गर्मीका कारण २४ घण्टामा ९० जनाको मृत्यु

भारतका उत्तरी राज्यहरूमा तातो लहर जारी छ। आईएमडीले उत्तर प्रदेश, हरियाणा, दिल्ली, चंडीगढ़, जम्मू, हिमाचल प्रदेश, पञ्जाब, राजस्थान, बिहार र झारखण्डमा तातो लहरको चेतावनी जारी गरेको छ। 

सोमबार लगातार दोस्रो दिन प्रयागराज देशकै सबैभन्दा तातो सहर बनेको थियो । यहाँको तापक्रम ४७ डिग्रीभन्दा माथि रेकर्ड गरिएको हो ।

उत्तर प्रदेशमा गर्मीका कारण २४ घण्टामा ९० जनाको मृत्यु भएको छ । तर, प्रशासनले यसलाई मान्ने गरेको छैन । पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्यु गर्मीका कारण भएको हो भन्ने खुल्ने प्रशासनको भनाइ छ । तर चिकित्सकहरूले धेरैजसोको मृत्यु तातो लहर र गर्मीका कारण भएको स्पष्ट बताउँछन् ।

उता, बिहारमा सोमबार गर्मीका कारण १७ जनाको मृत्यु भएको छ । तर, यसको पनि आधिकारिक पुष्टि भएको छैन । 

सोमबार औरंगाबादको तापक्रम ४६.९ डिग्रीमा रेकर्ड गरिएको थियो। छत्तीसगढमा गर्मीलाई ध्यानमा राख्दै गर्मी बिदा २५ जुनसम्म लम्ब्याइएको छ । गर्मी बिदा पछि पनि ओडिशामा विद्यालयहरू खुलिरहेका छैनन्।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मनसुन महाराष्ट्र, ओडिशा, आन्ध्र प्रदेश, पश्चिम बंगाल र बिहारका केही भागमा ४ दिनमा पुग्ने सम्भावना रहेको जनाएको छ । पश्चिम बंगाल र उत्तर-पूर्वी राज्यहरू (असम, मेघालय, अरुणाचल प्रदेश) मा वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ।