रासस तस्बिर प्रदर्शनीले देशको भौतिक प्रगति झल्कन्छ : अध्यक्ष केसी

काठमाडौँ, ४ असार : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीले देशको भौतिक क्षेत्रमा भएको प्रगति झल्काएको बताउनुभएको छ । 

रासस केन्द्रीय कार्यालयमा प्रदर्शनीको अवलोकन गरेपछि उहाँले भन्नुभयो, “देशमा भौतिक पूर्वाधार निर्माण भएको छ, अब विकासको गतिलाई निरन्तरता दिनुपर्छ, प्रदर्शनीले देशको भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा भएको विकास दर्शाएको छ”, भन्नुभयो ।  

अध्यक्ष केसीले देशमा गणतन्त्रात्मक शासन व्यवस्था भएपछि भौतिक विकास भएन भन्नेहरु गणतन्त्र विरोधी भएका टिप्पणी गर्दै जनअपेक्षाअनुसार भने विकास नभएको बताउनुभयो । देश र जनताका  लागि गणतन्त्र आफैँमा ठूलो उपलब्धि भएको उहाँको भनाइ थियो । 

अध्यक्ष केसीलाई राससका अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल र प्रधानसम्पादक उत्तम सिल्वालले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी दिनुभएको थियो । यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् । 

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । 

सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, सडक, पुल, स्वास्थ्य, शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस दू्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोशी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव र प्रदेश गौरवका आयोजनाका तस्बिर समावेश छन् ।